माधव-झलनाथलगायत नेताहरुलाई शिक्षक आन्दोलनको ऐक्यवद्धता प्रत्युत्पादक
काठमाडौं, १५ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरुलाई शिक्षकहरू आन्दोलनको ऐक्यद्धता प्रत्युत्पादक बनेको छ । आज (सोमबार) ऐक्यवद्धता जाहेर गर्न उनीहरु आन्दोलनस्थल नयाँ बानेश्वरस्थित विजुली बजार पुगेका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल, खनाल पुग्दा पनि आन्दोलनरत शिक्षकहरुले उनीहरुलाई वास्तै नगरी निरन्तर नाराबाजी गरिरहेका थिए ।
माधव, झलनाथलगायतका नेताहरु आएको वास्ता नै नगरी शिक्षकहरुले ‘प्रहरी दमन बन्द गर, दमनकारी सरकार खबरदार, दमनकारी सरकार होसियार, शिक्षकलाई पिट्न पाइँदैन, शिक्षक–कर्मचारी एकता जिन्दावाद, पञ्चायतकालीन शिक्षा ऐन खारेज गर, अग्रगामी शिक्षा ऐन जारी गर, विगतका सबै सम्झौताहरु कार्यान्वयन गर’ लगायतका नारा लगाएर प्रदर्शन गरिरहेका थिए ।
आन्दोलनलाई सम्बोधन गर्दै नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ‘यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै एकीकृत समाजवादीका नेतालक्षित अभिव्यक्ति दिए । त्यसपछि केहीबेरमा नै उनीहरुले आन्दोलनस्थल छाडेका थिए । आन्दोलनका बारेमा झलनाथले छोटो प्रतिक्रिया दिए पनि माधवले भने कुनै प्रतिक्रिया दिएनन् । सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले केलव ‘हाम्रो ऐक्यवद्धता छ’ मात्रै भने ।
शिक्षक आन्दोलनको २७औं दिनमा अध्यक्ष नेपाल र सम्मानित नेता खनाल, पार्टीका वरिष्ठ नेता प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरु प्रकाश ज्वाला, डा.गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशीलगायतका नेताहरू आन्दोलनस्थलमा पुगेका थिए ।