घाइते ६२ शिक्षक-कर्मचारीमध्ये १२ जनाको अवस्था ‘निकै चिन्ताजनक’: शिक्षक महासंघ
नेपाल शिक्षक महासंघले आइतबार काठमाडौँको बानेश्वरमा प्रहरीसँग भएको झडपमा घाइते भएका ६२ शिक्षक-कर्मचारीमध्य झन्डै १२ जनाको अवस्था चिन्ताजनक रहेको बताएको छ।
महासंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक-कर्मचारीमध्ये झन्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘बानेश्वरमा भएको प्रहरी आक्रमणबाट ६२ जना शिक्षक-कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन्। तीमध्ये झण्डै १ दर्जनको अवस्था निकै चिन्ताजनक छ। हामी सबै घाइते साथीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। साथै यो घटनामा घाइते भएको सबैको उपचारको जिम्मा लिन सरकारसँग जोडदार माग गर्दछौँ।’
२०८१ माघ २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँका सडकमा प्रदर्शन गरिरहेको छ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यले गरिएको यो आन्दोलन अन्तिम र निर्णायक आन्दोलन भएको दाबी शिक्षक महासंघले गरेको छ।