ऊर्जाराज्यमन्त्रीलाई हटाउन देउवाले गरेका थिए सिफारिस, ओलीले ‘बिर्सिँदा’ ढिलाइ
काठमाडौं । ऊर्जाराज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई कांग्रेस सभापति देउवाकै सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट बर्खास्त गरेको खुलेको छ । बालुवाटार स्रोतका अनुसार दुई हप्ता अगाडि नै देउवाले प्रधानमन्त्री समक्ष उनलाई हटाउन प्रस्ताव गरेका थिए ।
कान्छारामले आफ्नै पार्टीका उर्जामन्त्री दिपक खड्कासँग टसल गर्दै आएपछि कांग्रेस नेतृत्व उनीसँग असन्तुष्ट बनेको हो । स्रोतका अनुसार खड्काले कि आफूलाई हटाउन कि कान्छारामलाई हटाउन नेतृत्वलाई बारम्बार आग्रह गरेका थिए । त्यसै अनुरुप देउवाले ओलीलाई प्रस्ताव गरेको बुझिएको छ ।
‘कान्छारामले अराजक बोली र व्यवहार देखाइरहेकाले उनलाई संविधानबमोजिम पदमुक्त गर्न देउवाले दुई हप्ता अगाडि नै आग्रह गर्नुभएको थियो । तर, प्रधानमन्त्रीले बिर्सिनुभएछ । अहिले फेरि गृहमन्त्री मार्फत ताकेता भएपछि पदमुक्त गरिएको हो’, बालुवाटार स्रोतले भन्यो ।
यो बीचमा परराष्ट्रमन्त्री आरजु देउवाले पनि कान्छारामसँग उनको गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन् । आरजुले आफूलाई सार्वजनिकरुपमा माफी माग्न भनेको तर आफूले इन्कार गरेपिछ हटाउने संकेत गरेको कान्छारामले बताएका छन् ।
हिजो यूएइका उपप्रधानमन्त्रीसँग सिंहदरवारमा भेटवार्ता पश्चात गृहमन्त्री लेखकले प्रधानमन्त्रीलाई भेटेका थिए । उक्त भेटमा देउवाले दुई हप्ता अगाडि गरेको सिफारिस लेखकले प्रधानमन्त्रीलाई सम्झाएको स्रोतले बतायो । देउवाले प्रधानमन्त्रीसित कांग्रेसका मन्त्रीहरुको संयोजन गर्ने जिम्मा लेखकलाई दिएर हिँडेका छन् ।
गृहमन्त्रीले ‘बैंककबाट सभापतिज्यूले त्यो कुरा सोध्दै हुनुहुन्थ्यो’ भनेपछि प्रधानमन्त्रीले ‘ए मैले बिर्सिएछु’ भनेका थिए । उनले ‘हटाउनु अगाडि एकपटक कुरा गर्नु पर्ला नि त’ भनेर लेखकलाई सुझाव दिए । त्यसपछि लेखकले त्यहीँबाट कान्छारामलाई फोन गरेर राजीनामा मागे ।
राजीनामा नदिए बर्खास्त हुने चेतावनी दिए । कान्छारामले राजीनामा दिन मानेनन् । त्यसपछि गृहमन्त्रीकै उपस्थितिमा मुख्य सचिव एकनारायण अर्याललाई पदमुक्तको पत्र तयार गर्न लगाइएको स्रोतले बतायो ।