Logo
१२ जेष्ठ २०८२, आईतबार
(April 24, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री भएपछि पुराना अभिव्यक्ति र भिडियोले रघुजीमाथि प्रहार

 बुधबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा मन्त्रीमा नेकपा एमालेका रघुजी पन्तलाई नियुक्त गरे ।

शिक्षक आन्दोलनकै बिच विद्या भट्टराईले सोमबार मन्त्रीबाट राजीनामा दिएसँगै पन्तलाई सो पदमा नियुक्त गरिएको हो ।

एमालेभित्र आलोचनात्मक चेत राख्ने पन्तमाथि शिक्षकहरुको माग पूरा गर्नुपर्ने चुनौती छ । साथसाथै शिक्षा क्षेत्रमा देखिएको विकृती र विसंगतिलाई परास्त गर्दै आफ्नो कार्यकाल स्वर्णिम बनाउने अवसर समेत रहेको छ ।

तर पन्त शिक्षामन्त्री नियुक्त भएसँगै उनका पूराना भिडियो र अभिव्यक्तिहरु सामाजिक सञ्जालमा बाहिर ल्याइएका छन् ।

वर्षौपहिले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरिएका, स्त्रीद्वेषी अभिव्यक्तिदेखि विभिन्न विवादास्पद अभिव्यक्तिहरुलाई सामाजिक सञ्जालमा सेयर गर्दै आलोचना भइरहेको छ ।

तत्कालीन समयमा समेत प्रधानमन्त्री रहेका ओलीले ७७ सालमा संसद् विघटन गरेपछि माधव नेपाल गुटमा लागेका पन्तले त्यसबेला प्रधानमन्त्री ओलीमाथि गरेको टिप्पणीलाई अहिले चर्चामा ल्याइएको छ । साथै एमाले केन्द्रीय सदस्य समेत रहेकी पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीमाथि गरेको भद्धा टिप्पणीलाई समेत चर्चामा ल्याइएको छ ।

तर एमाले नेतृत्वकै सरकार भए पनि सरकार र मन्त्रीहरुले गरेको कामको खरो टिप्पणी गर्ने नेतामा पर्छन् पन्त । लामो राजनीतिक जीवन व्यतित गरेका पन्त गत निर्वाचनमा समानुपातिकबाट सांसद बनेका हुन् ।

लामो समय पत्रकारितामा समेत संलग्न रहेका पन्तको संसदीय यात्रा ०५१ सालको मध्वावधी निर्वाचनबाट सुरु हुन्छ । ०५१ सालमा ललितपुर क्षेत्र नं ३ बाट सांसद बनेका उनी ०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रेस सल्लाहकार बनेर समेत काम गरेका थिए ।

यसअघि उनी ०६१ सालमा श्रम तथा यातायात मन्त्री समते बनेका थिए ।

प्रकाशित मिति: Apr 24, 2025

प्रतिक्रिया दिनुहोस्