Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(April 24, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानले भन्यो- भारतको कुनै पनि आक्रमणको जवाफ दिन्छौँ

जम्मु-कश्मीरमा सर्वसाधारणमाथि भएको आक्रमणपछि भारतले पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको छ । यसमा पाकिस्तानले भने तत्काल प्रतिक्रिया नजनाउने भएको छ ।

भारतले पाकिस्तानले ‘सीमा-पार आतङ्कवाद’ लाई समर्थन गरिरहेको आरोप लगाउँदै यो प्रतिक्रिया दिएको थियो । यसबारे पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले घोषणा गरेको कदममा पाकिस्तानले तत्काल प्रतिक्रिया नदिने बताएका छन् ।

बीबीसीका अनुसार पाकिस्तानको एक सञ्चारमाध्यमलाई दिएको प्रतिक्रियामा उनले भारतमा भएको उक्त आक्रमण निन्दनीय रहेको बताएका छन् । ख्वाजाले भनेका छन्- भारतमा भएको घटना निन्दनीय छ । कुनै पनि रूपमा आतंकवादको समर्थन गर्न सकिँदैन ।

भारतका विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा बताएअनुसार भारतले सन् १९६० मा गरिएको ‘इन्डस जल सम्झौता’ तत्काल  स्थगित गर्ने निर्णय गरेको छ । यसबारे प्रतिक्रिया दिँदै ख्वाजाले भनेका छन्- भारत लामो समयदेखि यो सम्झौताबाट बाहिरिन चाहेको थियो ।

उनले भारतले पाकिस्तानमाथि कुनै पनि प्रकारको आक्रमण गरे त्यसको कडा जवाफ दिन पाकिस्तान सक्षम रहेको पनि चेतावनी दिएका छन् । उनले भनेका छन्- कुनै पनि प्रकारको भारतीय हमलाको कडा जवाफ दिन सक्ने १०० प्रतिशत स्थितिमा पाकिस्तान छ ।

उनले भारतले हवाई क्षेत्र उल्लंघन पनि गर्न सक्ने भन्दै त्यसबारे कडा चेतावनी दिएका छन् । उनले भनेका छन्- भारतले हवाई क्षेत्र उल्लंघन गर्दा अभिनन्दको घटनामा पाकिस्तानले दिएको जबाफ याद राखोस् । उनले भारतको संरक्षणमा बलुचिस्तानमा आतंकवाद मौलाएको पनि आरोप लगाएका छन् ।

‘बलुचिस्तानमा भारतीय संरक्षणमा आतंकवाद मौलाइरहेको छ । जाफर एक्सप्रेसको घटनामा के भएको थियो ? यो सबैलाई थाहा छ,’ उनले भने, ‘भारतले पृथकतावादीहरूलाई महत्त्व दिएको छ । बलुचिस्तानका पृथकतावादीहरू उपचारका लागि भारत जाने गरेका छन् । यसका थुप्रै उदाहरण छन् ।’

उनले पहजगाममा भएको आतंकवादी आक्रमणको दोष अन्य देशलाई दिनुको साटो आफैलाई जिम्मेवार मान्न भारतलाई उनले सुझाव दिएका छन् । उनले यो घटना भारतले नै गराएको एक झुठो अभियान पनि हुन सक्ने टिप्पणी गरेका छन् ।

प्रकाशित मिति: Apr 24, 2025

प्रतिक्रिया दिनुहोस्