Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(April 23, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेयर साम्पाङमाथि आफ्ना समर्थक उक्साएर माओवादी कार्यकर्ता कुटाएको आरोप

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि आफ्ना समर्थक उक्साएर माओवादी नेतालाई कुटपिट गरेको आरोप लागेको छ । धरान- ११ मा सडक बनाउने विषयमा विवाद भएको थियो । उक्त विवाद मिलाउन पुगेका मेयर साम्पाङले उक्साएपछि उनका समर्थकद्वारा माओवादी नेता सन्तोष लिम्बूमाथि कुटपिट भएको आरोप छ ।

धरान–११ मा नगरकोट–बानडाँडाको टोल समितिको अध्यक्ष हुन् लिम्बू  । लिम्बूको पहलमा गत वर्ष बाटो खोलिएको थियो । उक्त बाटोको स्तरोन्नतिका लागि आफूले नै पहल गरेर प्रदेश सरकारको भौतिक योजना मन्त्रालयबाट २० लाख बजेट विनियोजन गराएको लिम्बूको दाबी छ ।

उनले भने, ‘म अध्यक्ष भएकाले र प्रदेशको भौतिक योजना मन्त्रालयबाट २० लाख बजेट विनियोजन गराएँ । बाटोको स्तरोन्नति भइरहेको थियो । विवाद भयो । मेयर सा’प आउनुभयो । तर, विवाद मिलाउनुभन्दा मसँग बाझ्न थाल्नुभयो । उनका कार्यकर्ताले हातपात गरे । कुटपिट गरे ।’

बाटोको स्तरोन्नति आधा मात्र भएपछि स्थानीयहरूले पूरा बाटोको स्तरोन्नति हुनुपर्ने माग गरेका थिए । त्यसको लागि केही श्रमदान केही अबको आर्थिक वर्षको बजेटमा माग गरेर पूरा गर्ने सहमति भएको लिम्बू बताउँछन् ।

‘बाँकी बाटोको स्तरोन्नति यही आर्थिक वर्षमा फेरि प्रदेश सरकारलाई बजेट विनियोजन गराइमाग्ने भनेर सहमति भयो,’ उनी भन्छन् । तर, मेयर साम्पाङ आएर मसँग छलफल समन्वय नै नगरेर काम गर्ने भनेर थर्काएको लिम्बू बताउँछन् । उनले भने, ‘विवाद मिलाउनुपर्नेमा मेयर साम्पाङले उल्टै तपाईं को हो ? वडाअध्यक्षको बराबर हैसियत नभएकाले ठूलो कुरा गर्ने भनेपछि विवाद भएको हो । म नागरिकले मेयरलाई प्रश्न गर्न नपाउने हुन्छ ? भन्दा उनका कार्यकर्ताले कुटपिट गरे । मैले मेयरमाथि, कुटपिट गर्नेलगायतका नाममा प्रहरीमा उजुरी दिएको छु,’ उनले भने ।

साम्पाङले भरतपुरकी मेयर रेनु दाहाललाई सामाजिक सञ्जालमा कटाक्ष गरेर लेखेको दिन नै माओवादी कार्यकर्तालाई धरानमा कुटपिट गर्न मान्छे उक्साएको आरोप लागेको छ । साम्पाङले तीन दिनपहिला दाहाललाई लक्षित गरेर दाहालले आफूलाई ठूलो योजना सञ्चालन गर्न सुझाव दिएको भन्दै लेखेका थिए, ‘रेनु दाहालले मलाई ठूलो योजना गर्नुपर्थ्यो भनेर भनेछ ! रेनुजी, तपाईंको बाउ प्रधानमन्त्री हुँदा सप्तकोसीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो त मैले के गर्ने ?’

साम्पाङ यत्तिमा रोकिएका छैनन् । उनले नेकपा माओवादी केन्द्र सामन्त र दलाल, पुँजीपतिहरूको पार्टी बनिसकेको आरोप पनि लगाएका छन् । उनले लेखेका छन्, ‘बिनापैसा विकास कसरी गर्न सकिन्छ ? जनताको शक्तिलाई ढुङ्गा हान्न, भएको संरचना भत्काउन र मान्छे मार्नमा होइन, देश निर्माणमा कसरी जोड्न सकिन्छ भन्ने कुरा सिक्न मकहाँ आउनू ! भिजन भनेको के हो, त्यो म सिकाउँछु !’ साम्पाङले माओवादी पार्टी खराब, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खराब भनेर पनि लेखेका छन् ।

उनले लेखेका छन्, ‘बाउ ठीक रैनछ, पार्टी ठीक रै’छ त ! एयरपोर्ट मागेको, तपाईंकै पार्टीको सुदन किराँती मन्त्री थिए र तपाईंकै बाउ प्रधानमन्त्री थिए, विराटनगरमा छँदै छ, किन चाहियो धरानमा भने । प्रम हुँदा तपाईंको बाउले बजेटजति सबै तपाईंकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे । अब ८४ मा म आफैँ आएर गर्नुपर्ला त्यो ठाउँमा भन्दै छु ।’

प्रकाशित मिति: Apr 23, 2025

प्रतिक्रिया दिनुहोस्