कुनै पनि शैक्षिक गतिविधिमा सहभागी नहुन शिक्षकलाई महासंघको आग्रह
शिक्षा ऐन जारी गर्नुपर्नेलगायत माग राखी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको शिक्षक महासंघले कुनै पनि शैक्षिक गतिविधिमा सहभागी नहुन शिक्षकहरूसँग आग्रह गरेको छ । महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षाका क्रममा केन्द्राध्यक्षसमेत नबन्न शिक्षकहरूलाई आग्रह गरेको छ ।
देशभरका शिक्षकहरू काठमाडौं आएर प्रदर्शन गरिरहेका बेला सरकारले मंगलबार मात्र कक्षा १२ को परीक्षा तोकिएको समय ११ वैशाखदेखि सञ्चालन गर्ने निर्णय लिएको छ । शिक्षक आन्दोलनका कारण २ वैशाखमा सुरु भएको विद्यार्थी भर्ना अभियानसमेत रोकिएको छ ।
शिक्षक आन्दोलनकै बीचमा शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी थिइन् ।