Logo
१९ जेष्ठ २०८२, आईतबार
(April 21, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबुआमा र छोराछोरीलाई लिएर पाथीभरा जाँदै थिइन् सविना

ताप्लेजुङ — ललितपुर महानगरपालिका-१० निवासी ४५ वर्षीया सविना पौडेल छोराछोरी र बुवाआमालाई लिएर पाथीभरा दर्शनका लागि ताप्लेजुङ आइपुगेकी थिइन्। आइतबार बेलुका फुङलिङ आएका उनीहरू होटल प्यारिजमा बास बसेका थिए।

सविनासँगै छोरा १० वर्षीय भबिमय आचार्य, १६ वर्षीया छोरी आध्या आचार्य, माइतीका बुबा झापा भद्रपुर नगरपालिका-१५ निवासी ७० वर्षीय विनोद पौडेल र आमा ६९ वर्षीया सरिता पौडेल थिए।

होटलमा बास बसेपछि सविनाले होटल सञ्चालक सविन बानियाँलाई बिहान काफ्लेपाटीसम्म पुग्ने ट्याक्सी व्यवस्थापन गरिदिन आग्रह गरिन्। सविनले मालिकसमेत रहेका आफैं रहेका ट्याक्सी चालक फुङलिङ नगरपालिका-१० फुरुम्बु निवासी ४२ वर्षीय दुर्गा भट्टराईलाई सम्पर्क गराइदिए। सोमबार बिहान मन्दिरमा पूजा गर्ने गरी पुग्ने र दिउँसो फर्किहाल्ने गरी उनीहरू पाथीभरा जाने निधो भयो।

चालक भट्टराई बिहान ३ बजेतिरै गाडी लिएर होटलमा पुगे। सविनाको टोली तयारी भएर निस्किँदा ३ : ३० भयो। उनीहरू फुङलिङबाट काफ्लेपाटीतर्फ अगाडी बढे। सेवारो चोक भन्ने स्थानमा पुग्दा सडकमा खाल्टाखुल्टी थियो।

वर्षौदेखि यही रुटमा गाडी कुदाइरहेका चालक भट्टराईले सडकको खाल्टो छल्दै विजुलीको पोल नजिकबाट गाडी अगाडि बढाए। उनले बिजुलीको तार माथिबाट झरेको पत्तै पाएनन्। तारमा बोलेरो जीप ठोक्किने बित्तिकै गाडीमा आगजनी भयो। करेन्ट प्रवाह भयो। उनीहरू गाडी छोडेर भाग्न समेत भ्याएनन्।

आगलागीमा परी चालक भट्टराईसहित सविनाका छोरी आध्या, बुबा विनोद र आमा सरिताको घटनास्थलमै ज्यान गयो। सविना गाडीबाट ओर्लिन भ्याइन् भने छोरा भविमय अलि छिटो निस्किएकाले उनलाई कम चोट लागेको छ।

उनीहरूभन्दा पछाडि रहेको गाडीमा थियो भरतपुर नगरपालिका-४ चितवनका जनार्दन भण्डारीसहितको टोली। दुर्घटनामा घाइते भएका भविमय जलिरहेको गाडी छोडेर भण्डारी चढेको गाडी रोक्न सडकमा उभिए। बिजुलीको तारमा छोएको गाडी जलिरहेको थियो।

पछाडिको गाडीबाट पाथीभरा जाँदै गरेका भण्डारीले जलिरहेको गाडी छेऊमा सविनाले हात उठाइरहेको देखे। सविना जलिरहेको गाडीबाट डेढ मिटर नजिकमा लडेकी थिइन्। उनलाई तानेर पर सारे। भण्डारीका अनुसार जलिरहेको गाडीमा रहेका चालकसहितका चारजनालाई उद्धार गर्ने अवस्था थिएन।

त्यहाँ न एम्बुलेन्स थियो, न अरू सवारी । त्यसपछि भण्डारीले आफू चढेर पाथीभरा जाँदै गरेको गाडी फर्काए, घाइते सविना र भविमयलाई बोकेर फुङलिङतर्फ फर्किए। ‘सविना अचेत अवस्थामा थिइन्। सानो भाइ बोल्दै थिए,’ भण्डारीले भने, ‘हामी फर्किएर सुकेटार आइपुग्दा एम्बुलेन्स जाँदै थियो। त्यसपछि घाइतेलाई एम्बुलेन्समा राखेर अस्पताल ल्यायौँ।’

ताप्लेजुङ अस्पतालमा प्राथमिक उपचारपछि सविनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ। काठमाडौँको हेम्स अस्पतालमा चिकित्सक रहेका उनका श्रीमान्‌ले हेलिकप्टरबाट घाइतेहरूलाई काठमाडौँ लगेका हुन्।

यता बिद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका प्रमुख सुरेश प्रसाद चौधरीले भने गए रातिको वर्षा र चट्याङले तारको पिन फुटाएका कारण तार लत्रिएको दाबी गरेका छन्। ‘चट्याङले हुनसक्छ, तारको पिन फुटाएको रहेछ,’ उनले भने, ‘हामीले पहिल्यै थाहा पाएनौं। बिहानै यस्तो दुर्घटना भयो।’

तर प्राधिकरणले नियमित अनुगमन र मर्मतसम्भार नगर्दा यस क्षेत्रमा विद्युतका पोल जताततै विद्युतीय धराप जस्ता देखिन्छन्। बिजुलीका पोलहरू ढल्किएका छन् भने कतिपय ठाउँमा अझैपनि तार लत्रिएको अवस्थामा रहेका छन्।

प्रकाशित मिति: Apr 21, 2025

प्रतिक्रिया दिनुहोस्