मन नपरेका पार्टी र नेतालाई हराउन पाइन्छ तर गणतन्त्रविरुद्ध जान पाइँदैनः गृहमन्त्री
काठमाडौँ – गृहमन्त्री रमेश लेखकले गणतान्त्रिक संविधानलाई समाप्त पार्ने अधिकार कसैलाई पनि नभएको बताएका छन्।
शुक्रबार पोखरामा गण्डकीस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले संविधानले दिएको स्वतन्त्राको हकभित्र रहेर शान्तिपूर्वक गतिविधि गर्न पाइने छुट सबैलाई रहेको बताए। उनले सरकार, कुनै पार्टी वा नेता मन नपरे निर्वाचनमार्फत हराउन सकिने बताए।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भइरहेका प्रदर्शनलाई इंगित गर्दै लोकतन्त्रभित्र बसेर आफ्ना गनिविधि गर्नुपर्नेमा सचेत गराए। उनले जबरजस्ती र विध्वंसात्मक गतिविधिले देशलाई अस्थिरतातर्फ लैजाने भएकाले यसतर्फ सबैले सचेत हुनुपर्ने उल्लेख गरे।
यस्ता गतिविधिहरुलाई नियन्त्रण गर्नु र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु सरकार तथा सबैको जिम्मेवारी भएको उनको भनाइ थियो।
उनले भने, ‘सरकार बदल्न पाइन्छ। पाँच–पाँच वर्षमा आवधिक निर्वाचनमा गएर आफूलाई मन लागेको पार्टी र नेतालाई जिताउन पाइन्छ र हराउन पाइन्छ। तर लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई समाप्त गर्छु भन्न पाइँदैन, च्यात्न पाइदैन भत्काउन पाइँदैन, फाल्न पाइँदैन।’