Logo
१९ जेष्ठ २०८२, आईतबार
(April 16, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापा अर्जुनधारामा १९ जोडीको सामूहिक बिहे

बिर्तामोड । झापाको अर्जुनधाराधाममा आज १९ जोडीको सामूहिक विवाह गरिएको छ । २५ जोडीको विवाह गर्ने लक्ष्य राखेको धामले १९ जोडीको विवाह गरेको जनाएको छ ।

अर्जुनधारा जलेश्वरधामको आयोजना तथा विश्व हिन्दू परिषद नेपालको समन्वयमा सामूहिक विवाह सम्पन्न गरिएको हो । अर्जुनधारा जलेश्वरधामले कोशी प्रदेशमै पहिलो पटक निःशुल्क सामूहिक विवाह गरेको जनाएको छ ।

गरिब, विपन्न परिवारलाई लक्षित गरेर आयोजना गरिएको विवाहमा हिन्दू धर्म परम्पराअनुसार विवाह गरिएको हो । खर्च अभाव कारण विवाह गर्न नसेक्ने बरबधुलाई सहयोग गर्ने उद्देश्यले निःशुल्क सामूहिक विवाह आयोजना गरिएको अर्जुनधारा जलेश्वरधामका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए ।

सामुहिक विवाहका लागि अलग-अलग मण्डप र गुरुहरूको व्यवस्था गरिएको थियो । बेहुला र बेहुलीको परिवारको तर्फबाट १०÷१० जना सहभागी हुन दिइएको छ । धामले सामूहिकरूपमा भोजन समेत गराएको छ ।

धामका अध्यक्ष गट्टानीका अनुसार विवाहको सम्पूर्ण खर्च धामले व्यहोरेको छ । विवाह सम्पन्न गर्न ३० लाख रूपैयाँ खर्च अनुमान गरिएको छ । धामका गुरु अग्नि सिग्देलले ब्रम्हा विवाहको विधिबाट सामूहिक विवाह गरिएको जानकारी दिए ।

विवाहका लागि धामले फाराम नै तयार गरेको थियो । विवाहका लागि आव्हान नै गरेको धाममले वरवधुलाई एकसरो उपहारसमेत प्रदान गरेको छ । अभिभावकको अनुमति वडा र नगरको सिफारिस वा वरवधु नै राजीखुसी भएको प्रमाण पेश गरेपछि धामले विवाहका लागि स्वीकार गरेको हो ।

प्रकाशित मिति: Apr 16, 2025

प्रतिक्रिया दिनुहोस्