उपकुलपति बरालको राजीनामापछि रेक्टर र रजिस्ट्रारमाथि पनि दबाब
उपकुलपति प्राडा केसरजंग बरालको राजीनापछि त्रिभुवन विश्वविद्यालय नेतृत्वविहीन बनेको छ । उपकुलपति बरालले चैत १५ गते स्वास्थ्य कारण देखाउँदै राजीनामा दिए पनि हालसम्म उनको राजीनामा स्वीकृत भइसकेको छैन । तर, विश्वविद्यालयभित्रको वातावरण अस्थिर बनेको छ, जसको प्रभाव रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजालमाथि समेत परेको छ ।
त्रिवि स्रोतका अनुसार बरालले नियुक्त गरेका रेक्टर र रजिस्ट्रारलाई समेत राजीनामा दिन दबाब सिर्जना भएको छ । एमालेनिकट विद्यार्थी संगठनदेखि प्राध्यापक तथा कर्मचारीसम्मले उपकुलपतिको टिममा रहेका सबै सदस्यले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गर्दै आएको स्रोतको दाबी छ ।
एकातिर बराललाई काममा फर्काउनका लागि प्रयासहरू जारी छन् भने अर्कातिर उनको टिममाथि पनि राजीनामाको अपेक्षा गरिएको छ ।
आफूहरूमाथि पनि दबाब आउन थालेपछि रेक्टर केसी र रजिस्ट्रार रिजालले केही दिनअघि बरालको गृहनगर पोखरा पुगेर राजीनामा फिर्ता गर्न आग्रह गरेका थिए ।
बरालले भने आफू सहज वातावरण बनेमा मात्र पुनः जिम्मेवारी लिन सक्ने संकेत दिएको स्रोतको दाबी छ । २०८० सालको फागुनमा नियुक्त भएका बरालले करिब १३ महिनामै पद त्याग गरेपछि विश्वविद्यालय नेतृत्व पुनः अन्योलमा परेको हो ।