पशुपतिको बालुवा खानी भ्रष्टाचार प्रकरणः ३ जना पक्राउ
काठमाडौँ । पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचार प्रकरणमा ३ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका अनुसार २ जना पूर्व एलडीओसहित ३ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी रहेका छन् । प्रहरीका अनुसार जोशी र श्रेष्ठ पूर्व स्थानीय विकास अधिकारी हुन् ।
गत माघ ३० गते सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा ९ जनालाई दोषी ठहर गरेको थियो ।
सर्वोच्चले सो भ्रष्टाचार प्रकरणमा एमाले नेता निर्मल कुइँकेलको समेत संलग्नता रहेको ठहर गरेको थियो । कुइकेलले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको अदालतको ठहर छ । उनीविरुद्ध ६ वर्ष कैद सजाय तोकिएको छ ।