युवालाई सशक्त बनाउन सके मुलुक समृद्ध बन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको बताएका छन्। बुधबार प्रजातन्त्र दिवसको अवसर पारेर सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले राष्ट्रको समृद्धि र जनताको सुख नै परिपूर्ण लोकतन्त्र भएको उल्लेख गरे। उनले परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गर्ने बताए।
उनले सरकार बढ्दो जनआकांक्षा र चुनौतीहरूबीच, राज्यको संस्थागत र सामर्थ्यबीच लय मिलाएर संगतिपूर्ण ढङ्गले अगाडि बढिरहेको जिकिर गरे। युवा पुस्ता देशको भविष्य भएको भन्दै उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअपमार्फत उद्यमशीलताको थालनी गरिएको बताए।
लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिवी र भ्रष्टाचारलाई हटाउँदै लैजाने प्रतिवद्धता जनाए। दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरुको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र भएको बताए।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राष्ट्रको समृद्धि र जनताको सुख’लाई मैले ‘परिपूर्ण लोकतन्त्र’ भन्ने गरेको छु। चलन चल्तीमा भनिने प्रजातन्त्रले ‘संगठन र अभिव्यक्तिको स्वतन्त्रता’को मात्र वकालत गर्यो।
परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गर्छ। समृद्धि भनेको समग्र विकास हो, सुख भनेको व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति हो। हामी त्यसतर्फ इमान्दारीपूर्वक हिंडिरहेका छौँ।
बढ्दो जनआकांक्षा र चुनौतीहरूबीच, राज्यको संस्थागत र सामर्थ्यबीच लय मिलाएर संगतिपूर्ण ढङ्गले अगाडि बढिरहेका छौं। हाम्रो युवा पुस्ता देशको भविष्य हो। उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअपमार्फत उद्यमशीलताको थालनी गरिएको छ। युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने यस सरकारको नीति छ। लोकतन्त्रको खुला मैदानमा नै जनताको जीवनमा प्रगति भएको छ।
तर, हाम्रा चुनौती अझै बाँकी छन्। लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिवी र भ्रष्टाचारलाई हटाउँदै हामी ती चुनौतीलाई चिर्नेछौँ। लोकतन्त्रको उज्यालोकै कारण आज हामीले डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौं, जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन शुरु गरेको छ।
सन् २०२६ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरुको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै हो। सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा हामी हाम्रा हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेका छौं। यसबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्क्षा पूरा गर्न सफल हुनेछौं।’
फागुन ७ गते, नेपाली जनताको प्रजातान्त्रिक हक अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत संघर्षमा आफूलाई समाहित गर्ने वीर÷वीरङ्गनाहरुको स्मरण गर्ने दिन भएको बताए। प्रजातन्त्र स्थापनाको संघर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्षमार्फत जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको आकांक्षा साकार पार्न संकल्प गर्ने दिन भएको उल्लेख गरे।
मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताको लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकाङ्क्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न आह्वान गरे।