हिमाल नाङ्गिएकोप्रति देउवाको चिन्ता
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू नाङ्गिएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले हिमालको हिउँ पग्लिएर हिमाल नाङ्गो भएकोप्रति गुनासो गरेका हुन् । उनले जलवायु परिवर्तनले नाङ्गो भएका हिमालहरू कसरी जोगाउने भन्नेबारेमा गैरसरकारी संस्थाहरूले नीतिगत पैरवीदेखि हिमाल जोगाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
सभापति देउवाले नेपालको सामाजिक विकासमा गैरसरकारी संस्थाहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । मानव अधिकार, सुशासन, समावेशिता लगायतका विषयमा गैरसरकारी संस्थाहरूले प्रभावकारी काम गर्दै आएको उनको भनाई थियो ।
सभापति देउवाले भने, ‘वास्तवमा नेपालमा सामाजिक सेवा गर्ने संस्था तथा नागरिक समाजको स्थापना, विकास र कामको अवस्था र स्वरूप फरक फरक देखिन्छ । गैरसरकारी संस्थाहरूप्रतिको समय र सन्दर्भसँगै सामाजिक न्याय, लोकतन्त्र र मानव अधिकार, सुशासन, आर्थिक समृद्धि र समावेशी सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई अङ्गीकार गरी सरकारको सहयोगीको रूपमा काम गर्ने संस्थाहरू हुन् । यी सङ्घसंस्थाहरू भित्र पनि सुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्र मजबुत हुनुपर्छ भन्ने आवाज छ ।’