सिमेन्टको मूल्य वृद्धिविरुद्ध सर्वोच्च पुगे प्रदेश सांसद, न्यायाधीश पाण्डेयको इजलासमा पेसी
काठमाडौं । मधेश प्रदेश सभा सदस्य रहबर अन्सारीले सिमेन्ट उद्योगमा मूल्य वृद्धि विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सिमेन्ट उत्पादक कम्पनीहरूबीचको अनुचित प्रतिस्पर्धा र मूल्यवृद्धिको षड्यन्त्र भएको दाबी गर्दै उनले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् । सो रिट आज न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेशी तोकिएको छ ।
रिटमा सिमेन्ट उत्पादकहरूले मूल्य समिकरणको उद्देश्यले मिलेमतो गरेको दाबी गरिएको छ । जसका कारण सर्वसाधारण उपभोक्ता र निर्माण क्षेत्रमा गम्भीर आर्थिक असर परेको उल्लेख छ। त्यस्तै, रिटमा भविष्यमा सर्वसाधारणको लागि प्रिमियम मूल्यमा साधारण शेयर ल्याउनलाई कम्पनीलाई जसरी पनि नाफामा लैजानुपर्ने भएकाले अहिले मूल्यमा कार्टेल गरिएको आरोप लगाइएको छ।
रिटमा नेपालको संविधानको धारा ४६ र १३३ (२) (३) को आधारमा परमादेश लगायत अन्य आवश्यक आदेश जारी गरी पाउँ भन्दै नेपाल सरकारका गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल सिमेन्ट उत्पादक संघलाई विपक्षी बनाएको छ ।
यसअघि गत माघ १५ गते उनले सर्वोच्चमा रिट हालेका थिए । सो रिट अदालत प्रशासनले दरपिठ गरेपछि दरपिठविरुद्ध अर्को रिट हालेका थिए । मंगलबार सर्वोच्चले रिट दर्ता गर्न आदेश दिएपछि उनको रिट दर्ता भएको हो । अन्सारी मधेश प्रदेश सभामा माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन ।