Logo
२९ असार २०८२, आईतबार
(November 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाथीभरामा केबलकार शिलान्यास विवादमा तीन जना घाइते

२३ कात्तिक, काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार निर्माण गर्ने र नगर्ने विषयमा भएको विवादमा ढुंगा हानाहान हुँदा कम्तिमा तीन जना घाइते भएका छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार, घाइते हुनेमा स्थानीय चन्द्र मादेन, दमोदार अधिकारी र कुमार लिम्बु छन् । उनीहरुलाई जिल्ला अस्पताल ताप्लेजुङ लगिएको शर्माले बताए ।

उनका अनुसार, सशस्त्र प्रहरीका इन्स्पेक्टर डिगेन्द्र ओली पनि सामान्य घाइते भएका छन् । ‘अस्पताल नै लानुपर्ने गरी चाहिँ तीन जना घाइते हुनुभएको छ’, शर्माले  भने ।

शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए ।

तर, कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनुहुँदैन भन्ने समूहका व्यक्तिहरूले ढुंगा हान्न थालेको फुङलिङ नगरपालिकाका मेयर मादेनले  बताए ।

‘उनीहरू अग्लो ठाउँमा बसेका थिए, त्यहाँबाट तल ढुंगा हान्दा केही प्रहरी साथीहरू पनि लाग्यो’, उनले भने, ‘यद्यपि, स्काभेटर चलाएर केबलकार शिलान्यास गरिसकेका छौं ।’

सीडीओ शर्माका अनुसार, अहिले स्थितिमा नियन्त्रणमा आइसकेको छ । यद्यपि, दुवै पक्षका व्यक्तिहरु घटनास्थल आसपासमै छन् ।

प्रकाशित मिति: Nov 8, 2024

प्रतिक्रिया दिनुहोस्