Logo
३१ असार २०८१, आईतबार
(June 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कलंकीको एनबीटीसी र केटीसी भवनमा झण्डै ५ अर्बको ठगी, ६ जना सञ्चालक पक्राउ

काठमाडौँ । न्युरोड, महाबौद्ध र ओटुको होलसेल मार्केट कलंकीमा सार्ने भन्दै झण्डै एक हजार ३ सय जनाबाट करिब ५ अर्ब रुपैयाँ उठाएर ठगी गरेका ६ जना सञ्चालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार कलंकी डेभलपर्स प्रालि र मिला ल्याण्ड डेभलपर्सका ६ जना सञ्चालकलाई पक्राउ गरेको हो । काठमाडौँ प्रहरीले मिला ल्याण्ड डेभलपमेण्ट प्रालिका अध्यक्ष नरेन्द्र बज्राचार्य तथा निर्देशकहरू राजेशकृष्ण सिंह श्रेष्ठ, शान्ति रमण पंगेनी, निरञ्जन कुमार श्रेष्ठ, राजु महर्जन र चिरञ्जीवी पौडेललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँमा कलंकी ट्रेड सेन्टर (केटीसी)का करिब ४ सय जना लगानीकर्ता र नेशनल बिजनेश ट्रेड सेन्टर (एनबीटीसी)का १५ जना लगानीकर्ताको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन)को कसुरमा पक्राउ गरिएको हो ।

  • कसरी भयो ठगी ?

कम्फर्ट हाउजिङ समेतमा लगानी गरेका र प्राइम बैंकमा सञ्चालक समेत रहिसकेका नरेन्द्र बज्राचार्य लगायतका व्यक्तिहरूको समूहले काठमाडौँको महाबौद्ध, न्युरोड, ओटु, भोटेबहाल लगायतका स्थानमा होलसेल व्यापार गर्ने व्यापारीहरूलाई भेटेर नयाँ होलसेल मार्केटको योजना सुनाउँछन् ।

मिला ल्याण्ड डेभलपमेण्ट प्रालिबाट कलंकीमा नेशनल बिजनेश ट्रेड सेन्टर (एनबीटीसी) सञ्चालनमा ल्याउन लागेको र त्यो अत्यन्तै ठुलो होलसेल मार्केट हुने भन्दै उनीहरूले त्यहाँ लगानी गर्नेलाई सटर कवल बिक्री गर्ने योजना सुनाउँछन् ।

२०६९ सालबाट बन्न सुरु गरेको एनबीटीसी देशकै ठुलो होलसेल मार्केट हुने, सटर पनि किन्न पाइने र पार्किङ लगायतका सुविधा समेत हुने भनेपछि २०६९ सालदेखि २०७१ सालसम्म करिब ९ सय जनाले एनबीटीसीमा सटर कवल किन्नका लागि लगानी गरे ।

निर्माण सम्पन्न भएलगत्तै लालपुर्जासमेत दिने भनेर प्रति सटर कवल औसतमा ४० लाखका दरले डेभलपर्सले रकम उठाए । रकम उठाउँदा दुई पक्षबिच सम्झौता गरी तोकिएको अवधिभन्दा अधिकतम ६ महिनासम्म ग्रेड पिरियड दिने र उक्त समयमा पनि कम्प्लेक्स निर्माण सम्पन्न हुन नसकेमा वाणिज्य बैंकको चल्तीको ब्याजदरका हिसाबले लगानीकर्तालाई रकम दिनेसमेतको करारनामा गरियो ।

२०७२ सालको अन्तिममा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने भनिए पनि २०७२ सालमा भूकम्प आएपछि उक्त कम्प्लेक्स समयमै बन्न सकेन । त्यसपछि लगानीकर्तासँग २ वर्षको थप समय माग गरियो, त्यो पनि करारनामा विपरीत ब्याज नपाउने गरी ।

भूकम्प गएको समय भनेर लगानीकर्ताहरूले पनि विनाब्याज २ वर्ष समय थप गर्ने गरी सम्झौता गरिदिए । २०७४ को अन्तिममा निर्माण सम्पन्न गर्ने भनिए पनि निर्माण सम्पन्न हुँदा २०७६ साल लाग्यो । तर पनि लगानीकर्ताहरू चुपचाप नै थिए । तर निर्माण सम्पन्न भइसके पनि डेभलपर्सले लगानीकर्तालाई सम्झौता बमोजिम सटर कवलहरू पास गरेर नदिएपछि लगानीकर्ता झस्किए ।

त्यसरी झुलाउनुको कारण थियो, लगानीकर्ताबाट रकम उठाएर कलंकी चोकमा अर्को जग्गा खरिद गरी त्यहाँ अर्को व्यापारिक कम्प्लेक्स निर्माण सुरु गर्नु । सोही समूहले कलंकी डेभलपर्स प्रालि नाममा अर्को कम्पनी दर्ता गरेर कलंकी चोकमा कलंकी ट्रेड सेन्टर नामक व्यापारिक कम्प्लेक्स निर्माण गर्दै थियो, एनबिटीसीकै मोडालिटीमा । त्यहाँ पनि लगानीकर्ताबाट पहिले नै रकम उठाएर निर्माण सम्पन्न भएपछि पास गरेर लालपुर्जा दिने भनिएको थियो ।

एनबीटीसीको प्रोजेक्ट नै धितो राखेर डेभलपर्सले विभिन्न बैंकबाट ऋणसमेत लिएको थियो । तर समयमै बैंककोे ऋण तिर्न नसकेपछि डेभलपर्सले एनबीटीसीमा लगानी गरेकाहरूलाई समयमै सटर कवल पास गरेर दिन सकेन । लगानीकर्ताहरूले पटकपटक आग्रह गरे पनि डेभलपर्सले आलटाल गरिरहे ।

र, अन्तिममा २०८१ को वैशाख लागेपछि लगानीकर्ताहरू आन्दोलित हुन थालेपछि बल्ल डेभलपर्सले कम्पनी घाटामा गएको, कम्पनी ऋणमा डुबेको कारण बैंकको ऋण नतिरी पास गर्न नसकिने भन्दै पन्छिन थाले ।

एनबीटीसीमा लगानी गरेका करिब ९५० लगानीकर्तामध्ये हालसम्म करिब १ सय ७० जनालाई सटर कवल पास गरेर दिइएको बताइएको छ । बाँकी करिब ७ सय ८० लगानीकर्ता भने आफूले गरेको लगानी फिर्ताको मागसहित आन्दोलनमै छन् ।

यता कलंकी ट्रेड सेन्टर (केटीसी) का लगानीकर्ताको हालत पनि उस्तै छ । उनीहरूलाई पनि सम्झौता बमोजिम सटर कवलहरू पास गरेर दिइएको छैन । अति भएपछि उनीहरूले पनि जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएपछि सोही जाहेरीका आधारमा सञ्चालकहरू पक्राउ परेका छन् । अहिले दुवै जाहेरीलाई सँगै राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

  • करिब ५ अर्बको ठगी

नेशनल विजनेश ट्रेड सेन्टर (एनबीटीसी)मा लगानी गरेका लगानीकर्ता विष्णुकुमार श्रेष्ठका अनुसार एनबीटीसीमा लगानीकर्ताको करिब २ अर्ब ९० करोड रुपैयाँ फसेको छ । त्यहाँ ९५० लगानीकर्ताले औसतमा ४० लाखका दरले लगानी गरेका छन् । १० वर्ष अगाडि नै करिब ३ अर्ब ८० करोड लगानी भएकामा हालसम्म करिब १७० जनालाई मात्रै सटर कवलको नामसारी गरी लालपुर्जा दिइएको छ ।

Bishnu Kumar Shrestha NBTC

बाँकी करिब ७८० लगानीकर्तालाई हालसम्म नामसारी गरिएको छैन भने उनीहरूको करिब ३ अर्ब १२ करोड रुपैयाँ अझै फसिरहेको छ ।

यता कलंकी ट्रेड सेन्टरको अवस्था पनि उस्तै छ । करिब ४ सय लगानीकर्तालाई सटर कवल नामसारी गरेर दिने भन्दै प्रति लगानीकर्ता औसतमा ५० लाखका दरले उठाइएको थियो । तर त्यहाँ पनि हालसम्म कसैलाई नामसारी नगरिदिएको एनबीटीसीका पीडित विष्णुकुमार श्रेष्ठले बताए ।

  • लगानी उठाएर ऐयासी र आफन्तका नाममा घरजग्गा !

पीडितहरूका अनुसार व्यापारिक कम्प्लेक्स निर्माण गरेर लालपुर्जासहित दिने भनी लगानीकर्ताबाट अर्बौं रकम उठाएर यो समूहले ऐयासी जीवन बिताएको र आफन्तहरूको नाममा घरजग्गा जोडेको पीडितको गुनासो छ ।

लगानीकर्ताबाट लगानी लिएर निर्माण गर्ने अनि बैंकबाट समेत ऋण लिएर आफन्तको नाममा सम्पत्ति जोडेर डेभलपर्सले साना लगानीकर्ताको बिचल्ली बनाएको आरोप छ । यद्यपि प्रहरीले सो विषयमा अनुसन्धान सुरुमात्रै गरेको कारण उनीहरूले कुनकुन आफन्तका नाममा कहाँकहाँ घर जग्गा जोडे वा कहाँकहाँ लगानी छ भन्ने अझै खुलेको छैन ।

  • यस्तो छ एनबीटीसीका पीडितहरूको संयुक्त जाहेरीको बेहोरा

कसुरसम्बन्धी विवरण :

क) कसुर भएको वा भइरहेको वा हुन लागेको स्थान, ठाउँ, मिति र समय ः काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं. २२ न्यूरोडस्थित कम्पनीको कार्यालयमा मिति २०८० गते र अन्य विभिन्न समय ।

ख) कसुरसँग सम्बन्धित घटनाको विवरणः

हामी जाहेरवालाहरू देशका विभिन्न जिल्ला र स्थानबाट काठमाडौँमा आइ आ–आफ्नो व्यापार, व्यवसाय पेसा सञ्चालन गर्दे आएका छौँ । हाल हामी सबैजना छुटाछुट्टै पेसा, व्यापार, व्यवसाय सञ्चालन गर्दै आफ्नो व्यापार बढाउँदै जीविकोपार्जनका साथै प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारी सिर्जना गरी मुलुकको अर्थतन्त्रमा पनि सक्दो योगदान गर्दै आएका छौँ ।

ग) हामी जाहेरवालाहरू आ–आफ्नो व्यापार व्यवसाय बढाउँदै जाने क्रममा माथि दफा ३ मा उल्लेखित कसुरदारहरूसँग व्यापारिक प्रयोजनको सिलसिलामा धेरै अगाडि देखिनै चिनजान भएको थियो । व्यावसायिक प्रयोजनको लागि निजहरूसँग भेटघाट हुने क्रममा निज कसुरदारहरूले निजहरूको नाममा काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं. २२ मा रजिष्टर्ड कार्यालय रहेको द.नं.२४३३० को कम्पनीमार्फत उक्त कम्पनीको नाममा रहेको का.जि.का.म.न.पा. वडा नं. १४ बल्खु कलंकीस्थित नेशनल बिजनेस ट्रेड सेन्टरको व्यावसायिक भवनमा विभिन्न व्यापारिक एकाईहरू (सटरहरू) निर्माण गर्ने र उक्त व्यापारिक भवनभित्र रहेको फरक–फरक क्षेत्रफलका एकाईहरूको स्वामित्व व्यावसायिक प्रयोजनको लागि व्यापारीहरूलाई बिक्री–वितरण गर्ने व्यावसायिक योजना रहेको कुरा बताएपछि हामी जाहेरवालाहरू पनि निजहरूको उक्त योजनाबाट प्रभावित भएका थियौँ ।

घ) यसै क्रममा निज कसुरदारहरूले हामी सम्पूर्ण जाहेरवालाहरूलाई भेला गराइ न्यूरोडमा मात्र सीमित रहेको व्यापार, होलसेल व्यवसायलाई न्यूरोड, इन्द्रचोक, ओटुमा मात्र सीमित नराखी व्यवसायीहरूले तिर्नुपर्ने चर्को भाडा, पार्किङ स्थलको अभाव, ढुवानीको अभावजस्ता व्यापारीहरूले भोग्नुपरेको समस्याहरूलाई समाधान गर्नको लागि प्रोजेक्टरमार्फत योजना देखाइ प्रोजेक्टस्थल, पार्किङ सुविधा लगायतको आफ्नै व्यापारिक भवन बनाउने भनी हामीहरूलाई योजना बाँडेपश्चात निजहरूको उक्त प्रस्ताव अनुरूप आफ्नै पसल कवलको एकाई भयो भने हामीलाई के–के सुविधाहरू हुनसक्छ भनी विभिन्न आवश्वसनसमेत दिएपश्चात् हामी सबै जाहेरवालाहरूलाई निजहरूले विश्वासमा पार्नुभयो ।

ङ)  हामीहरू व्यापार व्यवसायको क्रममा सधैँभरि अरूसँग सटर कवल भाडामा लिएर व्यापार गर्नुभन्दा बरु ऋणधन गरेर भए पनि आफ्नो हकभोगको सम्पत्ति भयो भने व्यवसायमा अझ बढी निखरता र सहज हुने सोची निजहरूको योजना बमोजिम उक्त कम्पनीको एकाई (सटर) हरू खरिद गरी आफनो व्यापारिक एकाई बनाउने निजहरूसँग लामो छलफल गरी निजहरूले दिएका विभिन्न आश्वासन तथा प्रस्ताव बमोजिम जाहेरवाला लगायत अन्य व्यापारीहरूसमेत निजहरूको

प्रस्तावबाट प्रभावित भई निजहरूको उक्त नेशनल बिजनेस ट्रेड सेन्टरको व्यावसायिक भवनमा रहेका विभिन्न फरक–फरक क्षेत्रफलका व्यापारिक एकाई लिनको लागि सहमति जनायौँ । उक्त सहमति अनुरूपको कार्य गर्नको लागि कसुरदारहरूले नै तयार पारेको एकै किसिमको ढाँचामा तयार पारेको करारनामामा हामी जाहेरवाला र कसुरदारहरूबिच करारनामा समेत गरिएको थियो । उक्त करारनामामा उक्त भवन मिति २०७३ साल चैत मसान्त भित्रमा नेशनल बिजनेस ट्रेड सेन्टरको व्यावसायिक भवनको निर्माण कार्य सम्पन्न गरी हामी जाहेरवालाहरूलाई करार बमोजिमको एकाई क्षेत्रफल हामीले तिरेको मूल्यको आधारमा स्वामित्व हस्तान्तरण गर्ने, उक्त एकाईको तोकिएको खरिद मूल्य हामीहरूले उक्त कम्पनीलाई बुझाएपछि कम्पनीले उक्त व्यापारिक एकाईको स्वामित्व हामीहरूलाई रजिष्ट्रेशन पारित गरिदिने, करारमा उल्लिखित अवधिमा व्यावसायिक भवनको निर्माण कार्य सम्पन्न हुन नसकेमा ६ महिनाको अवधिको समय थप गर्ने, थप गरेको समयमा पनि निर्माण सम्पन्न नभइ एकाई हस्तान्तरण नभएमा ढिला हुन गएको थप निर्माण अवधिसम्मको लागि प्रथम पक्षले अर्थात कसुरदारले दोस्रो पक्षबाट हामी जाहेरवालाहरूबाट पहिले बुझी लिएको रकमको वाणिज्य बैंकको प्रचलित ब्याजदर बमोजिम हुन आउने व्याज बराबरको रकम ढिलाइबापत क्षतिपूर्ति स्वरूप भुक्तानी गर्नु पर्नेछ भनी विभिन्न शर्त राखिएको थियो । यसरी हामी जाहेरवालाहरूले कसुरदारहरूको माथि उल्लेखित कम्पनीसँग उक्त व्यापारिक एकाई खरिद गर्ने गरी सम्झौता गरेपश्चात् हामी जाहेरवालाहरू उक्त व्यापारिक प्रयोजनको भवन सम्पन्न भइ हामीहरूको आ–आफनो एकाई हुन्छ भन्ने सोची आफूले दुःखकष्ट, मेहनत गरी कमाएको सम्पूर्ण रकम समेतले नपुगी बैंकबाट समेत ऋण लिएर उक्त भवनमा लगानी गर्न राजी भइ सम्झौतामा उल्लेखित रकम भुक्तानी तालिका र समयभित्र नै हामीहरूले उक्त कम्पनीलाई सम्पूर्ण रकमहरू भुक्तानी गर्दै आएका थियौँ । यसै क्रममा २०७२ सालमा आएको महाभूकम्पको कारण देखाइ हामी र कम्पनीबिच भएको समयसीमाको अवधिलाई केही वर्षको लागि बढाइ दिनुप¥यो भनी कसुरदारहरूले हामीसँग पुनः प्रस्ताव राखेको हुँदा हामीहरूले उक्त कुरालाई समेत देश नै भूकम्पको पीडामा परेको बेलामा ठिकै हो भन्ने सोची उक्त समयसीमालाई २ वर्षपछि पसल एकाईहरूको हस्तान्तरण गरेमा मन्जुरी रहेको भनी समयसमेत बढाइ दिएका थियौँ ।

च) यसरी हामी जाहेरवालाहरूले करारनाममा उल्लेखित आफनो एकाइको हस्तान्तरण गर्नको लागि तिर्नुपर्ने सम्पूर्ण रकम बुझाइसकेको अवस्थामा र कसुरदारहरूले भूकम्पको कारण देखाइ माग गरिएको २ वर्षको समय पनि व्यतीत भइसकेपश्चात् हामी सम्पूर्ण जाहेरवालाहरूले निजहरूलाई भेटी ‘अब त हामीलाई हाम्रो करार बमोजिमको हामीले पाउनुपर्ने एकाईको स्वामित्व हस्तान्तरण गरिदिनु’ भनी भन्दा पुनः निज कसुरदारहरूले हामीलाई बिस्तारै तपाईँहरू आएर आ–आफ्नो करार बमोजिम पाउनुपर्ने आ–आफनो एकाईहरूमा आएर पसल कवल राखेर बस्नुहोस्, त्यसपछि बिस्तारै स्वामित्व हस्तान्तरण गरिदिउँला भनी आश्वासन दिनुभएकोले सोही बमोजिम हामी जाहेरवालाहरूमध्ये धेरैले उक्त कम्पनीको नेशनल बिजनेस ट्रेड सेन्टरको व्यावसायिक भवनमा आ–आफनो स्वामित्वमा पर्ने करारनामा बमोजिमको एकाईमा पसल तथा व्यवसाय खोलेर बस्दै आएका छौँ । यसरी हामीले उक्त भवनमा पसल सञ्चालनमा ल्याएपछि पनि निज कसुरदारहरूलाई पटक–पटक भेटी अब त हाम्रो स्वामित्व हस्तान्तरण गरिदिनुहोस्, हामीले पनि दुःख गरेर बैंकको ऋणसमेत लिएर तपाईँहरूलाई एकाईको रकम बुझाइसकेका छौँ भनी अनुरोध गर्दासमेत निजहरूले हामीहरूको मागलाई आलटाल÷आलटाल गर्ने, एक महिनापछि गर्छौँ, २ महिनापछि गर्छौँ भनी समयमात्र व्यतीत गर्दै आउनुभएको थियो ।

छ) धेरैपटक ताकेता छलफल गर्दासमेत हामीलाई स्वामित्व हस्तान्तरण गर्न अस्वीकार गरेपश्चात् हामी सबै जाहेरवाला पीडितहरू मिलेर संघर्ष समिति गठन गरी विभिन्न मितिमा ध्यानाकर्षण तथा ज्ञापनपत्रसमेत बुझाएकोमा निजहरूले उक्त ज्ञापनपत्रको समेतको बेवास्ता गरेर बस्नुभयो । बिस्तारै हामी जाहेरवालाहरूले उक्त एकाईको लागि तिरेको रकम लिएर कसुरदारहरूले अन्यत्र लगानी गरेका आ–आफ्नो तथा आफना नातेदारहरूको नाममा विभिन्न ठाउँमा घरजग्गा खरिद गरेका, करोडौँको गाडी खरिद, ऐयासी जीवन बिताउँदै हिँडेको कुरा हामी जाहेरवालाहरूले थाहा जानकारी पाएपश्चात् हामीलाई निजहरूले विश्वासमा पारी हामीहरूको विश्वासको घात गरेको कुररमा सन्देह नरहेको सोची अन्तिमपटक मिति २०८१।०१।१० मा निजहरूलाई भेटी हामीहरूको एकाईहरूको करारनामा बमोजिमको स्वामित्व हस्तान्तरण गरिदिनुहोस् भनी अनुरोध गर्दा कसुरदारहरूले स्पष्ट भाषामा तपाईँहरू जस्ता मान्छे धेरै आए, पैसा बनाउन सकिँदैन, कम्पनी घाटामा छ, ऋणमा डुबेको छ, केही समय कुर्ने भए कुर्नोस्, नभए जे सक्नुहुन्छ गर्नोस् भनी ठाडो जवाफ दिएको हुँदा हामीलाई विश्वासघात गरी हामी जाहेरवालाहरूसँग करोडौँ रुपैयाँ उठाइ ठगी गरी कसुरदारहरूले रकम लिनु–खानु गरेको रहेछन् भन्ने कुरामा पूर्णत विश्वास हुन आएकोले मिति २०८१।०२।२८ बाट एक वर्षको हदम्यादभित्र प्रस्तुत जाहेरी लिइ उपस्थित भएका छौँ ।

ज) यसरी माथि उल्लेखित कसुरदारहरूले हामी जाहेरवालाहरूलाई निजहरूको नाममा काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं.२२ मा रजिष्टर्ड कार्यालय रहेको द.नं.२४३३० को कम्पनीमार्फत उक्त कम्पनीको नाममा रहेको का.जि.का.म.न.पा. वडा नं.१४ बल्खू कलंकीस्थित नेशनल बिजनेस ट्रेड सेन्टरको व्यावसायिक भवनमा विभिन्न व्यापारिक एकाईहरू (सटरहरू) निर्माण गर्ने र उक्त व्यापारिक भवनभित्र रहेको फरक–फरक क्षेत्रफलका एकाईहरूको स्वामित्व व्यावसायिक प्रयोजनको लागि करारनामा बमोजिम उक्त एकाईको तिर्नुपर्ने सम्पूर्ण रकम तिरिसकेपछि हक हस्तान्तरण गर्ने भनी आश्वासन दिइ हामीहरूसँग करारनामा गराई विश्वास दिलाइ तपसिलमा उल्लेखित सम्पूर्ण रकम हामीहरूबाट बुझिसकेपछि हामीहरूलाई ठगी गर्ने मनसायले धोका दिइ हामी जाहेरवालाहरूलाई बेइमानीपूर्वक हानिनोक्सानी पुर¥याइ निजहरूलाई फाइदा पुग्ने किसिमबाट मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद– २१ ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर गरेको हुँदा निज कसुरदारहरूको नाममा नेपाल अधिराज्यभरि भएको बैंक तथा वित्तीय संस्थाहरूमा रहेको सम्पूर्ण चल सम्पत्तिहरू तथा मालपोत कार्यालयमा दर्ता रहेका अचल सम्पत्तिहरू, निजहरूको नाममा रहेको विभिन्न कम्पनीको सेयरहरू समेत पत्ता लगाइ रोक्का राखी हामी जाहेरवालासँग लिएको तपसिलमा उल्लेखित रकम, सोको कानुनबमोजिम हुने करारनामा उल्लेख गरे बमोजिमको साँवा, ब्याज तथा क्षतिपूर्ति रकमसमेत असुलउपर गरी कसुरदारहरूलाई हद सम्मको सजाय गरिपाऊँ ।

प्रकाशित मिति: Jun 25, 2024

प्रतिक्रिया दिनुहोस्