Logo
१२ श्रावण २०८१, शनिबार
(May 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विशेष अदालतबाट दोषी ठहर भएका इन्जिनियर मृत भेटिए

११ जेठ, काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा भ्रष्टाचार भएको प्रकरणमा दोषी ठहरिएका एक जना कर्मचारी मृत फेला परेका छन् ।

सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल बिहीबार झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ । घरमा सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

प्रहरी स्रोतका अनुसार, सुसाइड नोटमा आफ्नो मृत्युको जिम्मेवारी आफैं भएको भन्दै कसैको दोष नरहेको लेखिएको छ ।

प्रहरी वृत्त, ठिमीका अनुसार, केएमसी मेडिकल कलेज दुवाकोटमा बिहीबारै उनको शवको पोष्टमार्टम भइसकेको छ । परीक्षणको प्रतिवदेन आउन बाँकी छ ।

पोखरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुअघि वन तथा वातावरण मन्त्रालयमा उपसचिव स्तरमा कार्यरत थिए ।

विशेष अदालतले ११ जेठमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित पोखरेल, इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेसका निर्देशक भुवन महर्जनलाई दोषी ठहर गरेको थियो ।

उनीहरुलाई दोषी ठहर गर्दै जेल र जरिवाना सजाय सुनाएको थियो । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका अरु ५ जनाले भने सफाइ पाएका थिए ।

प्रकाशित मिति: May 24, 2024

प्रतिक्रिया दिनुहोस्