Logo
११ श्रावण २०८१, शुक्रबार
(May 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब ‘एक्सन’ गर्न मन छ : जसिता गुरुङ

पछिल्लो समय अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङबिचको प्रेमबारे मिडियामा ‘गसिप’ बन्ने गरेको छ । जसिता भने आफूहरू एकअर्काको ‘राम्रो साथी’मात्र रहेको बताउँछिन् । उनले आफू ‘रिल’मा अनमोल केसीको प्रेमिका रहे पनि ‘रियल’मा असल साथी भएको प्रस्ट पारिन् ।

चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएपछि अनमोल र आफूलाई जोडेर प्रेमको हल्ला चलाइएको जसिताको भनाइ छ । ‘सायद फिल्मको प्रचार सामग्रीमा समेटिएको हाम्रो केमेस्ट्री दर्शकलाई राम्रो लाग्यो होला,’ उनले भनिन् । यस्तो हल्ला चल्नुले नै फिल्ममा आफ्नो जोडी दर्शकले रुचाउने एउटा सङ्केतका रुपमा लिन सकिने उनले बताइन् ।

‘फर्की फर्की’ बिहीबारदेखि प्रदर्शनमा आएको छ । जसिताको यो चौथो फिल्म हो । फिल्मलाई लिएर उनी एकदमै उत्सुक छिन् । फिल्मको प्रचारप्रसारमा सबैबाट सकारात्मक प्रतिक्रिया पाएकाले सफल हुनेमा आशावादी रहेको उनी बताउँछिन् ।

जसिताले भनिन्, ‘फिल्मको प्रचारका लागि बाहिर ल्याइएका ट्रेलर, टिजर र गीतले दर्शकको ध्यान खिच्न सफल भएको छ । यसले फिल्मको व्यवसाय राम्रो हुने सङ्केत गर्छ ।’

जसिताले फिल्म ‘फर्की फर्की’मा ब्रिटेनबाट फर्किएकी साइरा गुरुङको भूमिका निर्वाह गरेकी छन् । ‘म यूके (ब्रिटेन) बाट नेपाल आएकी केटी हुँ । फिल्ममा पनि मेरो भूमिका त्यही छ’, उनी थप्छिन्, ‘रियलमा अलिकति लाउड खालकी केटी भए पनि फिल्मको चरित्र रिजर्भ बस्ने छ ।’

‘फर्की फर्की’मा उनी अभिनेता अनमोलको प्रेमिका भएर देखिएकी छन् । फिल्म उद्योगमा पाइला चाल्नु अघि नै अनमोललाई उनी मन पराउँथिन् र सम्मान गर्थिन् । अनमोलसँग फिल्म खेल्ने उनको भित्री इच्छा थियो ।

‘सुरुमा फिल्मको कन्सेप्ट आउँदा म उत्साहित थिएँ । अनमोलसँग काम गर्न पाउँदा झन् खुसी थिएँ,’ जसिताले भनिन् । यसअघि फिल्म ‘एन्टी हिरो’मा उनी अनमोलको जोडीको रुपमा अनुबन्धित भएकी थिइन् तर सो फिल्म बनेन ।

jashita gurung

जसिता भाग्यमानी अभिनेत्री पनि हुन् । उनले जति फिल्ममा अभिनय गरिन्, ‘हिट’ हिरोसँग काम गर्ने मौका पाइन् । अभिनेता प्रदीप खड्कासँग ‘लिलीबिली ’मा अभिनय गर्दै फिल्म डेब्यु गरेकी उनको दोस्रो फिल्म ‘लभ स्टेसन’ पनि प्रदीपसँगै थियो । तेस्रो फिल्म ‘ज्याकीः आई एम २१’ धिरज मगरसम्म गरेकी उनको ‘फर्की फर्की’ चौथो फिल्म हो । ‘सबै फिल्म राम्रो हिरोसँग गर्नु कतै प्लानिङ होइन ?’ प्रश्न राख्न नपाउँदै उनले जवाफ फर्काइन्, ‘यो संयोग हो । मैले अहिलेसम्म हिरो हेरेर फिल्म छानेको छैन । फिल्म गर्न पहिले कथा मन पर्नुपर्छ ।’

कथा मन परेर जोडिएको फिल्ममा हिरो पनि संयोगले राम्रै परेको उनको भनाइ छ । उद्योगमा चलेको हिरोसँग फरकफरक जनराको फिल्ममा काम गर्न पाएकोमा निकै खुसी छिन् उनी ।

हुन त जसिता फिल्म उद्योगमा भित्रिएको करिब ८ वर्ष भयो । ८ वर्षमा चार वटामात्र फिल्ममा देखिएकी उनी आफूलाई ‘चुजी’ मान्दिनन् । राम्रो स्क्रिप्ट छान्दा फिल्मको सङ्ख्या कम भएको उनी सुनाउँछिन् ।

‘फिल्मका अफर त धेरै आउँछन् । अहिले पनि केही फिल्म छन् । काम गर्न स्क्रिप्ट चित्त बुझ्दैन । कुनैमा समय मिल्दैन’, उनले भनिन्, ‘त्यसैले धेरै फिल्महरू मैले छोड्नु प¥यो ।’

‘फर्की फर्की’ फिल्म आफूलाई अचानक आएको उनको भनाइ छ । रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा रहेको फिल्म सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । फिल्मले कथाको रुपमा टाइम ट्राभल उठाएको छ ।

‘कथा अहिलेसम्मको नौलो टाइम ट्राभल भएकाले मेरो रोजाइमा परेको हो । दर्शकले पनि इन्जोय गर्छन्’, उनी अगाडि थप्छिन्, ‘कमेडी, रोमान्स, फेमिली ड्रामा, जीवनमा आवश्यक पर्ने माया, सम्बन्ध फिल्ममा छ ।’

‘जसरी खानामा भेराइटी हुन्छ । फर्की फर्की त्यस्तै हो,’ उनले फिल्मको सन्देश खोलिन्, ‘जीवनमा राम्रो काम गर्दै गइयो भने जीवनको अन्त्य ढिलो चाँडै राम्रो हुन्छ भन्ने सन्देश फिल्मले दिन्छ ।’

कतिपय कलाकार फिल्मको व्यवसायलाई आफ्नो सफलता मान्छन् । कतिपयले अभिनयको चर्चालाई सफलता मान्छन् । जसिता फिल्मको व्यवसाय नभए पनि कलाकारको अभिनय चर्चा हुन्छ भने त्यो कलाकार सफल भएको मानिने धारणा राख्छिन् । उनका ‘लिलीबिली’, ‘लभ स्टेसन’ र ‘ज्याकीः आई एम २१’ गरेर ३ फिल्म रिलिज भयो ।

305116513_3372201386346202_2330592141313761813_n (1)

त्यसमा ‘लिलिबिली’ बाहेक अन्यले व्यावसायिक सफलता दिलाउन सकेन । ‘फिल्मको व्यावसायिक सफलता राम्रो र असफलता नराम्रो सपनाको रुपमा लिने गरेको छु’, उनले भनिन्, ‘फिल्मको व्यवसाय के भयो भन्दा पनि अबको फिल्म राम्रो गर्नुपर्छ भन्ने सोच राख्छु ।’

फिल्मको व्यवसाय नभए पनि अभिनय चर्चा भएकाले आफ्नो हातमा राम्रो फिल्म पर्ने गरेको उनी बताउँछिन् ।

नेपाली फिल्ममा नाम कमाएका कलाकार अहिले धमाधम भविष्यको चिन्ता गर्दै विदेश पलायन भइरहेका छन् । जसिता युकेमा हुर्केबढे पनि नेपाल फर्किएर नेपाली फिल्ममा काम गरिरहेकी छन् । अभिनय सानैदेखिको रुचि भएकाले फिल्ममा आएको उनले बताइन् ।

‘युकेमा पनि अभिनयको स्कोप छ । तर पहिलेदेखि नै मेरो नेपाल फर्किने इच्छा थियो । त्यसैले यहाँको चलचित्र रोजेँ’, उनले भविष्यको योजना सुनाइन्, ‘विजनेशको पनि प्लानिङ गरिरहेकी छु ।’

तर विजनेश तल्काल नभएर केही समयपछि गर्ने योजना गरिरहेको उनले बताइन् । अहिलेसम्म प्रेमकथा र ट्राभल जनरामा फिल्म अभिनय गरेकी उनलाई अब हरर र एक्सन फिल्ममा अभिनय गर्न मन लागेको छ ।

आफ्नो मनपर्ने फिल्मको जनरा हरर भएको बताउने उनी हरर फिल्म नै धेरै हेर्छिन् रे । एक्सन गर्न मनलाग्नुको कारण भेरियस भएको बताउँछिन् । उनले भनिन्, ‘एक्सनमा धेरै भेराइटी छ ।’

प्रकाशित मिति: May 24, 2024

प्रतिक्रिया दिनुहोस्