Logo
३ असार २०८१, आईतबार
(May 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरोहिया पक्राउ गर्ने सरकारको कदमको पक्षमा उभियो रास्वपा

९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने सरकारको कदमको पक्षमा उभिएको छ ।

महामन्त्री डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गरी अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको जिकिर गरेका छन् ।

‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवि पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन, यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ’, उनले भनेका छन् ।

सिरोहियालाई जिल्ला अदालत धनुषाको अनुमति लिएर नागरिकता कीर्तेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरेको आफूहरुको जानकारीमा आएको रास्वपाले जनाएको छ ।

‘नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरुप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौं’, महामन्त्री ढकालले भनेका छन् ।

जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नुपर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जित हुने उल्लेख गर्दै उनले विज्ञप्तिमा भनेका छन्, ‘कोही कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।’

सिरोहियाले किर्ते नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा सर्लाहीका इन्द्रजित महतोले उजुरी दिएका थिए ।

त्यस आधारमा जिल्ला अदालत धनुषाले मंगलबार सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही आधारमा मंगलबार नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको थियो ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति: May 22, 2024

प्रतिक्रिया दिनुहोस्