Logo
१२ असार २०८१, मंगलबार
(May 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भन्सालीको सिरिज ‘हीरामण्डी’सँग लाहोरबासी किन रिसाए ?

काठमाडौं । चर्चित बलिउड निर्देशक सञ्जयलीला भन्सालीको वेब सिरिज ‘हीरामाण्डी : द डायमण्ड बजार’ गत साता नेटफ्लिक्समा रिलिज भयो । आठ एपिसोडको यो श्रृंखलाको कथा सन् १९२० देखि १९४० को अवधिमा बेलायती शासनविरुद्ध भारतीय स्वतन्त्रता आन्दोलनको पृष्ठभूमिमा सेट गरिएको छ ।

यो सिरिजको कथा ‘मल्लिका जान’ र उनको यौनकर्मी अखडा वरपर घुम्छ, जो लाहोरको शाही इलाका अर्थात् हीरामण्डीमा स्वतन्त्रता आन्दोलनका बेला बस्ने एक यौनकर्मी हुन् ।

भव्य दरबार र अत्याधिक महँगो झूमरले भरिएका आकर्षक सेट । सुन, चाँदी र बहुमूल्य रत्नले भरिएको लुगा लगाएका पात्रहरु र शीर्ष नायिका मनिषा कोइरालाको अद्भूत अभिनयसहितको क्यामेरावर्क । यी सबैको बाबजुद यो श्रृंखलाले सन् १९४० मा लाहोरको हीरामण्डीको सही छवि प्रस्तुत नसकेको भन्दै आलोचना भएको छ ।

एक सेटमा जहाँ धेरै जटिलता एकसाथ सिर्जिएका छन्, त्यहाँ गहिरो मानव भावना चित्रण गर्ने कथा देखाउन गाह्रो हुन्छ र भन्साली पूरै श्रृंखलामा यो विषयसँग संघर्ष गरिरहेको देखिन्छ । आठ घण्टा बिताएपछि मलाई थाहा भयो, ‘कृत्रिमता’ले भरिएको यो श्रृंखलामा कथा, पटकथा र संवाद छैन ।

नायिकाको शैली यति कृत्रिम छ कि त्यहाँ विभाजनपूर्वका गणिकाको झलक छैन, जसलाई कुलीन वर्गले आफ्ना छोराछोरीलाई मूल्यमान्यता, संस्कृति र उर्दू भाषा सिकाउन पठाउँथे ।

लाहोरका बासिन्दाका अनुसार भन्सालीको सेटमा देखाइए झैं हीरामण्डीको घरमा एउटा पनि आँगन भेटिने छैन । उनीहरुका अनुसार उक्त इलाकाका त्यस्ता अखडाका घर धेरै तलाका थिए । उनका अनुसार सो इलाकामा ठूला ‘वेश्यालय’ र धेरै तलाका घर थिए ।  यस श्रृंखलामा चित्रण गरिएका भवनको वास्तविकतासँग कुनै सरोकार छैन ।

करिब २०० करोड भारुको बजेटमा बनेको यो सिरिजलाई भन्सालीले आफ्नो ड्रिम प्रोजेक्ट भनेका छन् । यो लेखको प्रकाशनको समयमा यो सिरिज नेटफ्लिक्समा पहिलो नम्बरमा ट्रेन्डिङ भइरहेको छ ।

यस श्रृंखलामा मल्लिका जान शाही दरबार (हीरामण्डी)को सबैभन्दा सुन्दर, ठूलो हवेलीकी मालिक हुन् र हीरामण्डीका सबै दरबारले उनलाई आप्पा (दिदी) भनेर बोलाउँछन् ।

मल्लिकाले शाही दरबारको मालिक्नी बन्नका लागि वर्षौंअघि आफ्नै दिदी (सोनाक्षीले निभाएकी रेहाना)को हत्या गरिन् । वर्षौंपछि रेहानाकी छोरी फरीदान (सोनाक्षी सिन्हा) आफ्नी आमाको हत्याको बदला लिन र शाही दरबारको साँचो कब्जा गर्न आउँछिन् ।

यहाँबाट उनीहरुबीच झगडा सुरु हुन्छ, जसमा दुवैसँग जोडिएका धेरै पक्ष पराजित हुन्छन् । यो अदृश्य युद्धको सबैभन्दा ठूलो फाइदा बेलायती सरकारलाई हुन्छ, जो स्वतन्त्रता संग्राममा सक्रिय आन्दोलनकारीलाई दमन गर्न व्यस्त छ । यो त्यो समय हो, जब भारतमा स्वतन्त्रता आन्दोलन चर्किएको छ । त्यसमा शाही इलाकाका दरबार पनि सामेल छन् ।

किन रिसाए लाहोरका जनता ?

लाहोरका बासिन्दा यो श्रृंखलालाई लिएर सबैभन्दा बढी आक्रोशित छन् । पत्रकार तथा विश्लेषक सबाहत जाकियाले श्रृंखलाको पहिलो एपिसोडको आधा भाग हेरेपछि आफ्नी आमाले ‘बस्’ भनेर प्रतिक्रिया दिएको बताएका छन् । उनले हीरामण्डीमा बस्ने धेरै डाक्टर र कलेजका प्रिन्सिपललाई आफूले चिनेको पनि गुनासो गरेकी छन् ।

उनी हीरामण्डीलाई यौनकर्मी मात्र बस्ने ठाउँको रुपमा देखाइएकोमा आपत्ति जनाउँछिन् । श्रृंखला हेरेपछि लाहोरबाट आएका हमद नवाजले एउटा थ्रेडमार्फत यसको कडा आलोचना गरेका छन् । उनी भन्छन्,  ‘हीरामण्डीमा हीरामण्डी बाहेक सबै छ ।’

एउटा सेटको तस्वीरको वास्तविक शाही इलाकासँग तुलना गर्दै उनले सोधेका छन्, ‘यो सेट कहाँ स्थापना गरिएको थियो ? इटालीको लेक कोमोमा वा अमाल्फी कोस्टमा ?

आज पनि लाहोरका बाँकी सबै भवनमध्ये सबैभन्दा फरक निशाना शाही किला, नजिकैको मस्जिद र यसको मीनार हुन् । यो इलाका ग्ल्यामरले भरिपूर्ण नभई शोषण, दासत्व र गरिबीले भरिएको थियो । त्यहाँ बसोबास गर्ने जनतालाई वास्तविक जीवनमा जस्तै देखाउनुपर्छ भन्ने उनको धारणा छ ।

रफी काल्पनिक ठाउँमा फिल्म बनाउन पाएँ भन्दैमा आफूले चाहेको देखाउने लाइसेन्स कसैसँग नभएको तर्क गर्छन् । उनी भन्छन्, ‘यदि यो वास्तविक ठाउँमा आधारित कथा हो भनी दाबी गरिन्छ भने सत्यबाट यो दूरी ठीक होइन ।’

यसबारे वकास अल्वी भन्छन्, ‘के लाहोरको ‘बाजार–ए–हुस्न’ हीरामण्डीका सबै दरबार लखनऊसँग सम्बन्धित छन् ? तपाईं पञ्जाबी शैली वा भाषामा बोल्नुभएको छैन ? उर्दू शैली कसरी खराब हुनसक्छ ?’

उनले प्रश्न गरेका छन्, ‘किन यो ठूलो भिन्नताबारे कसैले भन्सालीलाई भनेन ?’

शर्मिन सेगललाई मुख्य भूमिकामा राख्दा केही समीक्षकको आपत्ति पनि छ । तर कतिपय दर्शकले भन्सालीको बचाउ गर्दै उनका प्रोडक्सन कहिल्यै पनि वास्तविकतासँग सम्बन्धित नभएको बताएका छन् । उनी वास्तविक रुपमा नभएका काल्पनिक संसार सिर्जना गर्छन् तर कथा चाहिं वास्तविक घटनाबाट प्रभावित हुन्छ ।

उनी संगीतसँगै सुन्दर दृश्य सिर्जना गर्छन् । वास्तविकताको लागि हामीसँग पुस्तक र वृत्तचित्र छन् । यो श्रृंखलालाई रुचाएका दर्शक चाहिं समीक्षकलाई यसको आनन्द लिन आग्रह गर्छन् ।

बीबीसी हिन्दीबाट

प्रकाशित मिति: May 9, 2024

प्रतिक्रिया दिनुहोस्