Logo
२२ बैशाख २०८१, शनिबार
(April 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड–ओलीले मिलेर भने: तत्काल दुई पार्टी एकता हुँदैन

तत्काल दुई पार्टी एकता नगर्ने र अहिलेलाई सत्ता सहकार्य गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बोली मिलेको छ।

उनीहरूबीच फागनु २१ को नयाँ  सत्ता समीकरणयता नै कुरा मिल्दै आएको थियो।

सोमबार नेकपा स्थापनाको हीरक महोत्सवमा पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षले सत्ता सहकार्यमै जोड दिए। विचार–विमर्श हुँदै जाँदा एकताको तहसम्म पुगिने सम्भावनालाई भने दुवैले नकारेनन्।

प्रधानमन्त्री प्रचण्डले ६ वर्षअघिको एकतालाई पनि सम्झिए। २०७५ जेठ ३ गते तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित दिवंगत भएको तिथि पारेर एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो।

प्रधानमन्त्री प्रचण्डले २०७७ फागुन २३ गतेसम्म टिकेको त्यो एकता हौसिएर अघि बढेको परिघटनाका रूपमा लिए।

‘हामी त्यो बेलामा अलि बढी हौसिएछौं कि, समयभन्दा अगाडि नै दौडिइएछ कि भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले। त्यसकारण अहिले हामी सहकार्य सुरू गरेका छौं, राम्रो सहकार्य गरौं। यसबाट जनतालाई र देशलाई राम्रो सेवा दिऊँ,’ उनले भने।

त्यसो हुँदै जाँदा दलहरूबीच स्वतः एकता र समझदारीको आधारभूमि तयार हुने प्रधानमन्त्री प्रचण्डले बताए।

एमाले अध्यक्ष ओलीले नेकपा विभाजनको कारण नागरिकले थाहा पाइनसकेको बताए।

उनले कम्युनिस्ट आन्दोलनको आम ट्रेन्ड एकता, एकीकरणकै भए पनि यसबीचमा कम्युनिस्ट आन्दोलनले दुई ठूला विभाजन व्यहोर्नुपरेको बताए।

‘आन्दोलनमा कहिले उतार, कहिले चढाव भइरहन्छ। कहिले विभाजन, विखण्डन पनि भएको छ। तर,आमट्रेन्ड भने एकता एकीकरणको रह्यो। दुईपल्ट अनावश्यक, अनुचित, हानिकारक विभाजनहरू भए। जो उपयुक्त थिएन। गर्नै हुँदैनथ्यो। भयो। कसको दोष म त्यतापट्टि जान चाहन्नँ। त्यसै गरेर २०७७–७८ सालमा दुई वटा विभाजन भयो। कसको के दोष? म त्यतापट्टि जान चाहन्नँ। समय आएपछि समीक्षा गरौंला। तर, विभाजन हुनै हुँदैनथ्यो। हानिकारक विभाजन भयो। यस अवस्थाबाट हामी फेरि उठेका छौं,’ उनले भने।

उनले तत्काल एकता गरिहालौं भन्ने तर्क व्यक्तिगत आकांक्षा, तुष्टिको कुरा मात्रै हुनसक्ने बताए। यसले आन्दोलनमा अरू प्रकारका समस्या पैदा गर्न सक्नेतर्फ सचेत हुनुपर्ने उनको धारणा थियो।

त्यसकारण अहिले सहकार्यको माध्यमबाट निकट हुँदै जाने बताए।

‘अघि प्रचण्डजीले भनेजस्तै तत्काल हामी पार्टी एकीकरण गरिहालौं, पार्टी एकीकरण भइहाल्छ, यो अर्को व्यक्तिगत आकांक्षा, तुष्टिको कुरा मात्रै हुनसक्छ। यसले आन्दोलनमा अरू प्रकारका समस्या पैदा गर्न सक्छ। अहिले सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौं। अगाडि बढ्छौं। क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौं। अहिले नै एकता गरौं, देशभरिका सबै मिलौं भन्ने हो भने हामी फुट्या किन थियौं? के भएर फुटेका थियौं? यस्ता प्रश्नहरू उठ्छन्। अहिले सहमति सहकार्य, सहकार्यका निम्ति सहमतिको बाटोबाट जाऔं,’ ओलीले भने।

उनले अहिले वामपन्थी शक्ति मात्रै मिलेर अगाडि बढ्ने अवस्था नरहेको बताए। देशभक्त, राष्ट्रिय स्वतन्त्र, भौगोलिक अखण्डता, स्वाधीनता, भ्रष्टाचार विरोधी र सुशासन पक्षधर शक्तिहरूबीचको एकताको खाँचो औंल्याए।

प्रकाशित मिति: Apr 22, 2024

प्रतिक्रिया दिनुहोस्