Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रत्यक्षदर्शीको बयान– वीरेन्द्र तालमा नाजुक अवस्था देख्यौं, हामी भाग्यले जोगियौं

गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेपछि त्यहाँबाट बग्ने पानीले बाढीको रुप लिएको छ । प्रत्यक्षदर्शीले यसको बाढी डरलाग्दो ढंगले बगिरहेको बताएका छन् ।

हिमपहिरो र बाढीको एक प्रत्यक्षदर्शी हुन् आरोही लाक्पा तेम्बा शेर्पा ।  शेर्पाले भने, ‘हामीले यहाँको नाजुक अवस्था देख्यौं ।’

उनले कस्तो अवस्था देखे ?  शेर्पाले त्यहाँको अवस्थाको वर्णन गरेका छन् –

मेरो घर सोलुखुम्बु हो । मसहित चार जनाको टोली मनास्लु हिमाल आरोहण गर्न भनेर जाँदै थियौं । मौसम धुम्म थियो ।

आज बिहान वीरेन्द्र हिमताल नजिक–नजिक पुगेको बेला गडगडाहटको ठूलो आवाज सुनियो । सुरुमा त हेली (हेलिकोप्टर) आयो होला भन्ने लाग्यो । तर पछि ठूलो बाढी पो देखियो ।

पानी पनि परेको छैन, तर बाढी आयो । एकैछिनपछि थाहा भयो वीरेन्द्र तालको पानी बाढी बनेर बगेको रहेछ । हामीलाई लाग्यो ताल फुटेर बाढी आयो ।

हामीले साम्दु गाउँ र सामागाउँ जोड्ने पुल तर्नु र बाढीले त्यो पुल बगाउनु सँगसँगै जस्तो भयो । हामी भाग्यले जोगियौं जस्तो लागेको छ ।

त्यतातिर दुई–चारवटा चौंरीहरु पनि थिए । पछि ती चौंरी पनि देखिएनन् । ती चौंरीहरु बाढीमा बगेको जस्तो लाग्छ ।

वीरेन्द्र ताल नजिक पुग्दा हिउँको ठूलो पहाडै खसेको देख्यौं । तालको आधाजस्तो भाग पहिरोले ढाकिएको थियो ।

एकछिनपछि ताल नजिक प्रहरीहरु पनि आइपुगे । उनीहरुले दुई वटा झोला भेटिए तर मान्छे भेटिएका छैनन् भनेर आपसमा कुरा गर्दै थिए । मानवीय क्षति भयो कि भएन, क्षति के कति भयो भन्ने एकिन विवरण उनीहरुलाई थाहा होला ।

हामी मनास्लु आरोहण गर्नका लागि आफ्नो बाटो लाग्यौं । अहिले हामी वीरेन्द्र तालभन्दा पनि माथि मनास्लुको आधार शिविर नजिक पुगिसकेका छौं । तलतिर हेर्दा कालो लेदोसहितको बाढी बगिरहेको देखिन्छ ।

प्रकाशित मिति: Apr 21, 2024

प्रतिक्रिया दिनुहोस्