Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ग्रामीण चलचित्र महोत्सव’ मा ‘सतीदेवी’ उत्कृष्ट फिल्म घोषित

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ। रामेछापमा भएको महोत्सवमा फिल्म ‘दिमाग खराब’ बाट निश्चल बस्नेत सर्वोत्कृष्ट निर्देशक घोषित भएका छन्।

अभिनेत्रीतर्फ ‘दिमाग खराब’ बाट स्वस्तिमा खड्का सर्वोत्कृष्ट हुँदा ‘नांगो गाउँ’ बाट दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता घोषित भए। सर्वोत्कृष्ट घोषित ‘सतीदेवी’ ले पटकथा विधामा पनि अवार्ड पायो।

अभिनेत्री मलिका महतले यही फिल्मबाट उत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितिन् भने सत्यराज चौलागाईं निर्देशित तथा मुकुन भुषाल अभिनीत ‘विच्छेद’ ले जुरी मेन्सन अवार्ड प्राप्त गर्‍यो। रंग संयोजनमा ‘दिमाग खराब’ बाट राजेन्द्र मोक्तान सर्वोत्कृष्ट भए।

सर्ट फिल्मतर्फ परिच्छेद सेनको ‘मदर’ उत्कृष्ट हुँदा कल्चरल फिल्मतर्फ बुद्दिया एस मगर निर्देशित मगर भाषाको ‘माराङ’ उत्कृष्ट घोषित भयो। रामजी ज्ञवाली निर्देशित ‘रित्तो गाउँ’ लाई उत्कृष्ट सर्ट फिल्म जुरी मेन्सन अवार्ड प्रदान गरियो।

म्युजिकल सर्ट फिल्मतर्फ रणधीर श्रेष्ठ निर्देशित ‘अन्तै माया’ उत्कृष्ट घोषित भयो भने अनिल बुढामगर निर्देशित ‘द आइरन डिगर’ लाई उत्कृष्ट डकुमेन्ट्री घोषित गरियो। ‘बिच्छेद’ बाट संकल्प भुजेलले उत्कृष्ट छायांकार र ‘नांगो ‘गाउँ’ बाट बनिश शाहले उत्कृष्ट सम्पादकको अवार्ड प्राप्त गरे। सिनेमा आर्टसलाई उत्कृष्ट फिल्म निर्माण कम्पनी घोषित गरियो।

महोत्सवमा बोल्दै चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवं निर्देशक दयाराम दाहालले ग्रामीण परिवेशमा बन्ने फिल्महरू छायांकनका लागि रामेछाप उपयुक्त स्थान हुन सक्ने बताए। बिहीबारदेखि शनिबारसम्म चलेको महोत्सवमा ‘दिमाग खराब’, ‘नांगो गाउँ’, ‘बिच्छेद’, ‘सतीदेवी’, ‘डेसान’ लगायतका फिल्महरू निःशुल्क प्रदर्शन भए। साथमा सर्ट फिल्म, डकुमेन्ट्री र विभिन्न भाषाभाषीका फिल्महरू देखाइएको थियो। त्यो सँगै फिल्मसँग सम्बन्धित विभिन्न विषयमा संवाद कार्यक्रम पनि भएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए।

रामेछाप नगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा महोत्सव भएको हो। फिल्म हलको सुविधा नभएका स्थानमा यो महोत्सव आयोजना गरिँदै आएको छ।

प्रकाशित मिति: Apr 21, 2024

प्रतिक्रिया दिनुहोस्