Logo
२० बैशाख २०८१, बिहीबार
(April 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खड्का ल्यान्डले भोगचलन गरेको संरचनामा काठमाडौं जिल्ला प्रशासनले लगायो सिल

लिज सम्झौता सकिइसकेपछि पनि खड्का ल्यान्डले भोगचलन गरिरहेको नेपाल स्काउटको संरचनामा जिल्ला प्रशासन कार्यालयले सिल लगाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार राति खड्का ल्यान्डको सबै संरचनामा सिल लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए।

‘नेपाल स्काउटले खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले करार सम्झौताअनुसार लिजमा लिएको थियो। तर लिजको सम्झौता सकिइसकेको थियो,’ उनले भने, ‘तर खड्का ल्यान्ड प्रालि यहाँ निरन्तर बसिरहेको अवस्था थियो। नेपाल स्काउटले सम्झौता अवधि सकियो, खाली गरिदिनुस् भनेर ताकेता गरिराखेको अवस्थामा उहाँहरूले नछोडेर अनधिकृत हिसाबले बसिराखेको भनेर स्काउटको कार्यकारी समितिले निर्णय गरेको थियो। त्यही निर्णयको आधारमा आज सिल गरिएको हो।’

खड्का ल्यान्डले नेपाल स्काउटलाई ६ करोड रुपैयाँ बुझाउन बाँकी रहेको पनि सहायक प्रजिअ शर्माले जानकारी दिए।

खड्का ल्यान्डले कानूनविपरीत तेस्रो पक्षलाई समेत जग्गा भाडामा दिएको शर्माले बताए।

‘उहाँहरूले तेस्रो पक्षलाई पनि भाडामा दिएको अवस्था रहेछ। नेपाल स्काउटले अनुरोध गरेको आधारमा र सार्वजनिक जग्गामा अनधिकृत हिसाबले बसेको आधारमा हामीले सहजीकरण गरिदिएका हौं,’ शर्माले भने।

जिल्ला प्रशासन कार्यालय, काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ का प्रतिनिधि, सुरक्षा निकायसमेतको रोहबरमा स्काउटको परिसरभित्र रहेका संरचनामा सिल गरिएको उनले बताए।

प्रकाशित मिति: Apr 19, 2024

प्रतिक्रिया दिनुहोस्