Logo
१२ असार २०८१, मंगलबार
(April 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमाउन भनेर युएई गए, टाउकोको चोट लिएर फर्किए

रोल्पाको गंगादेव गाउँपालिका–२ का बलकुमार वली रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (युएई) पुगेको एक वर्ष २ महिना मात्र भएको थियो ।

१२ असार २०८० मा उनी सधैंझै काम गर्न जाँदै थिए । वेगले कुदिरहेको उनी चढेको बसको अचानक ढोका खुल्दा उनी सडकमा बजारिन पुगे । गम्भीर घाइते भएका उनको मस्तिष्कमा असर पर्‍यो । एक महिना त उनको होस नै आएन । अर्धबेहोसीकै अवस्थामा एउटा निजी अस्पतालको शय्यामा थलिए उनी ।

होस खुलेको २ महिनापछि अस्पतालले उनलाई डिस्चार्ज गर्ने तयारी गर्यो । डिस्चार्ज गर्नु अघि उपचार खर्चवाफतको एक करोड ५८ लाख नेपाली रुपैयाँको बिल थमायो ।

बलकुमारले उपचार खर्च तिर्न सक्ने अवस्था थिएन । अस्पतालले उनलाई जान दिएन, बरु उनीविरुद्ध उपचार खर्च माग गर्दै मुद्दा हाल्यो ।

यता घरको आर्थिक अवस्था कमजोर थियो । उनी विदेश जाँदा लिएको ऋण तिर्नै बाँकी थियो । दुर्घटनामा परेर युएईमा काम गर्न नपाएपछि ऋण घटेकै थिएन, उपचार खर्चको थप बोझ कसरी उठाउनु !

‘अस्पतालको खर्च साह्रै महँगो, केही गरी पनि हामीले पैसा तिर्न सक्दैनथ्यौं’, बलकुमारका बुवा खड्कबहादुर वलीले भने, ‘एक महिना अस्पतालले उसलाई बन्धक नै बनायो ।’

खर्च तिर्ने सर्तमा उनले काम गर्ने कम्पनीले जिम्मा लियो र बलकुमार अस्पतालबाट बाहिर निस्कन पाए । तर, बलकुमारमा पहिलेजस्तो शारीरिक श्रम गर्ने बल थिएन ।

उनीबाट चाहेजस्तो काम लिन नसकेपछि कम्पनीले कामबाट निकालिदियो । बलकुमार अस्पतालबाट कम्पनी हुँदै सडकमा आए । ‘छोरा बिरामी नै हुँदा कम्पनीले छोडिदिएछ’, बुवा खड्कबहादुरले भने, ‘बिरामी अवस्थाको छोरो सडकमै खाने र त्यहीँ रात बिताउने अवस्थामा पुग्यो ।’

उता अस्पतालले उपचार शुल्क नपाएको भन्दै अदालतमा मुद्दा हालेको थियो । भिसा रोकिएको थियो । उनी तत्काल घर फर्किन सम्भव भएन ।

यो कुरा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईसम्म पुग्यो । समाजका दिल पुनले उनलाई घर फर्काउन पहल थाले । समाजले अस्पतालसँग शुल्क मिनाहा गरिदिन आग्रह ग¥यो । तर, अस्पतालले मानेन ।

उपचार खर्च तिर्न नसक्ने भएपछि परिवारका सदस्यहरु र रोल्पाली सेवा समाजले नेपाली दूतावासलाई समेत गुहारे । तर दूतावासको पहलले पनि काम गरेन ।

घाइते वलीका दुःख र समस्या देखाएपछि अन्ततः अस्पताल शुल्क मिनाहा गरिदिन तयार भयो । ‘छोरालाई फर्काउन सकिन्छ भन्ने आश मरिसकेको थियो, तर नसोचेको भयो’, बलकुमारका बुवा खड्कबहादुर भन्छन्, ‘अस्पतालले उपचार शुल्क मिनाहा गरिदियो ।’

त्यसपछि गत चैत पहिलो साता बलकुमारलाई नेपाल फर्काइयो ।

उपचारकै पिरलो

उनी कोमाबाट त फर्किए तर पहिलेजस्तो सामान्य अवस्थामा रहन सकेनन् । बेलाबेला उनलाई मानसिक समस्या बल्झिरहन्छ । अहिले पनि उनको उपचार जारी रहेको बुवा खड्कबहादुरले बताए ।

छोरालाई स्वदेश फर्काउन सफल भए पनि उपचारको समस्या भएको उनी बताउँछन् । ‘टाउकोमा चोट लागेकाले औषधी उपचार पनि महंगो छ’, उनले भने, ‘हरेक पटक काठमाडौं लैजानुपर्छ, एक पटकमा ३० हजारसम्म खर्च आउँछ ।’

बलकुमारलाई विदेश पठाउँदाको ऋण अझै तिरिसकेको छैन । त्यसमा अहिले महंगो उपचार खर्च थपिएको छ । ‘छोराको भविष्य बन्ला भनेर पठाएको, यो हालत भयो’, खड्कबहादुरले भने ।

प्रकाशित मिति: Apr 19, 2024

प्रतिक्रिया दिनुहोस्