Logo
१८ बैशाख २०८१, मंगलबार
(April 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घुस प्रकरणमा समातिए पोखरा महानगरका इन्जिनियर शिव बराल

 पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको प्रकरणमा थप एक जना इन्जिनियर पक्राउ परेका छन् । पोखरा महानगरका घरनक्सा शाखाका इन्जिनियर शिवराज बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले मंगलबार पक्राउ गरेको हो ।

गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरु १ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए ।

त्यही प्रकरणमा मंगलबार साँझ बराललाई पनि पक्राउ गरी अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाइएको सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिए । उनीहरुले यही एउटै काममा पनि पटक पटक घुस लिएको खुलेको छ ।

‘पटक पटक घुस लिएको र यो प्रकरणमा बरालको समेत संलग्नता देखिएपछि पक्राउ गरी केन्द्रीय कार्यालय पठाएर अनुसन्धान भइरहेको छ’ शिवाकोटीले भने, ‘रंगेहात डेढ लाख रुपैयाँ भेटिए पनि पटक पटक लिएको अनुसन्धानबाट देखिएको छ ।’

चैत २८ गते सवइन्जिनियर रोकायालाई पोखरा ५, मालेपाटनबाट र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरजलाई पोखरा–४ सेल्वेजबाट पक्राउ गरिएको थियो ।

घुससहित पक्राउ परेकी सबइन्जिनियर रोकायालाई महानगरले निलम्बन गरिसकेको छ । गोदार इन्जिनियरिङ कन्सल्टेन्सी पोखरा महानगरमै लामो समयदेखि कार्यरत इन्जिनियर महेन्द्र गोदारले सञ्चालन गरेका हुन् । सोही कन्सल्टेन्सीमा कार्यरत कर्मचारी घुस प्रकरणमा समातिएका हुन् ।

पोखरा महानगरपालिका १० का एक सेवाग्राहीको घर निर्माण सम्पन्न गराउने भन्दै घुस लिएपछि उनीहरुले कानुनी उपचारको बाटो रोजेका थिए ।

प्रकाशित मिति: Apr 17, 2024

प्रतिक्रिया दिनुहोस्