Logo
१८ बैशाख २०८१, मंगलबार
(April 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वासको मत लिनुअघि गण्डकीका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री

गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विशेष अधिवेशन डाक्न सिफारिस गरेलगत्तै मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

मुख्यमन्त्री अधिकारीले बुधबार बिहान प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । प्रदेशका विकासबारे छलफल गरेको अधिकारीले फेसबुकमा फोटो सार्वजनिक गरेका छन् । तर, अधिकारीले गण्डकीको सत्ताको निकासबारे परामर्श गरेको उनी निकट स्रोतले बताएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालका अनुसार सरकारले विशेष अधिवेशन आह्वानका लागि सिफारिस गरे पनि प्रदेश प्रमुख गृह जिल्ला भएकाले परामर्शमा संसद सचिवालयमा पठाउने तयारी छ ।

आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी छन् । सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको र सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेस २७ चैतमा सर्वोच्च पुगेको थियो ।

सोही रिटउपर सर्वोच्च अदालतले सर्वोच्चले २८ चैतमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा दायर गरेको रिटमा १० वैशाखमा पेशी तोकिएको छ ।

नेकपा एमाले संसदीय दलका नेता अधिकारी चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । अधिकारीले संविधानको धारा १६८ (२) अनुसार सरकार आह्वान गर्दा दलको बहुमतले पुग्ने भन्दै एमालेका २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ ‘दीपक मनाङे’समेत गरी ३१ जना सांसद पुर्‍याएर प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ । सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र (दीपक मनाङे) छन् भने, अर्कातर्फ नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।

प्रकाशित मिति: Apr 17, 2024

प्रतिक्रिया दिनुहोस्