Logo
१७ बैशाख २०८१, सोमबार
(April 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेश अस्पतालमा बिरामीको मृत्यु भएपछि डाक्टरलाई कारबाहीको माग

कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि उनका आफन्तहरूले चिकित्सकलाई कारबाहीको माग गरेका छन्।

दैलेखको आठविस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो।

चिकित्सक र अस्पताल प्रशासनको लापरबाहीका कारण सामान्य बिरामीको मृत्यु भएको भन्दै भीमाका आफन्तले चिकित्सकलाई कारबाही माग गरेका छन्।

भीमा वुधबार उपचारका लागि सुर्खेत झरेकी थिइन्। सुर्खेतको निजी मेडिकलमा जँचाएपछि मेडिकलको सल्लाहमा  उपचार गराउन  प्रदेश अस्पताल हिँडेरै पुगेकी थिइन्।

बिहीबार बिहान प्रदेश अस्पताल पुगेकी उनको उपचारका क्रममा मृत्यु भएको भीमाका जेठाजु हर्क बलामीले बताए।

उनका अनुसार भीमाले सात महिनाअघि छोरी जन्माएकी थिइन्।  त्यसबेला सुत्केरी गराउँदा पाठेघर सफा नभएकोले चिकित्सकले सफा गर्नुपर्ने भनेका थिए।

‘यसअघि प्रसूति गराउँदा पाठेघरमा केही सालनाल रहेको भनेर अस्पतालले भन्यो, सफा गर्न अपरेशन कक्षमा लगिएको थियो,’ बलामीले भने, ‘हामीले बेलाबेला सोध्दा पनि डाक्टरले सामान्य कुरा हो, केही समस्या छैन भन्नुभएको थियो, तीन बजेतिर एक्कासी मृत घोषणा गरेर शव बुझ्ने भनेपछि हामीलाई पत्याउनै गाह्रो भयो।’

उनले अस्पताल प्रशासन र उपचारमा संलग्न चिकित्सकको लापरबाहीका कारण आफ्नो भाइ-बुहारीको मृत्यु भएको आरोप लगाए।

भीमाका आफन्तले शुक्रबार बिहानदेखि मौन आन्दोलनको घोषणा गरेका छन्। उनीहरुलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतले छलफलका लागि बोलाएको छ।

बलामीका अनुसार आफन्तले तीनवटा माग राखेका छन्। मृतक परिवारलाई उचित राहत, प्रदेश अस्पतालको सुधार प्रतिबद्धता र भीमाको उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्नुपर्ने माग आफन्तको छ।

‘हामीले अस्पताल जस्तो संवेदनशील स्थानमा भौतिक संरचना तोडफोड गरेर आन्दोलनमा उत्रिने मनस्थिति बनाएका छैनौं, प्रशासन, हामी र अस्पतालबीच छलफल गरेर हामीले उठाएका माग पूरा गर्नुपर्छ भनेका छौं,’ बलामीले भने।

शुक्रबार १० बजे प्रशासनले छलफलका लागि बोलाएको उनले जानकारी दिए।

प्रदेश अस्पतालले भने यो घटनाको विषयमा आन्तरिक रुपमा पनि छानविन भइरहेको बताएको छ।

बिरामीको रिपोर्टले अवस्था असामान्य देखिएको र अपरेशन गरेर भ्रूण फाल्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

यसका बारेमा प्राविधिक कुरा बुझ्ने काम भईरहेको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले बताए।

प्रकाशित मिति: Apr 12, 2024

प्रतिक्रिया दिनुहोस्