Logo
२० बैशाख २०८१, बिहीबार
(April 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको महाधिवेशन प्रतिनिधि परिषदको बैठक वैशाख ८ र ९ गते गोदावरीमा

सत्तारूढ दल नेकपा (एमाले) ले वैशाख ८ र ९ गते राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गर्दैछ।

परिषद् बैठकमा करिब दुई हजार ५०० सहभागी हुने एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

उनका अनुसार महाधिवेशन प्रतिनिधि परिषद्को बैठक ललितपुरको गोदावरीमा हुनेछ।

महाधिवेशन प्रतिनिधि परिषद्को तयारीका लागि आइतबार एमालेको केन्द्रीय सचिवालयको बैठक बसेको थियो।

बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्मा ६ वटा प्रतिवेदन पेस गर्ने तयारी गरेको गुरूङले बताए।

उनका अनुसार राजनीतिक, संगठनात्मक र केन्द्रीय निकाय (लेखा, अनुशासन, निर्वाचन) आयोगकको अलगअलग प्रतिवेदन हुनेछन्।

ती प्रतिवेदनमाथि समूह विभाजन गरेर छलफल गराइने उनले बताए।

‘दसौं राष्ट्रिय महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी थिए। केन्द्रीय निकायका गरी करिब २५ सय सहभागी पुग्ने अनुमान गरिएको छ,’ गुरूङले भने।

राजनीतिक, संगठनात्मक प्रतिवेदनका अतिरिक्त परिषद् बैठकमा पार्टीले चिवाभञ्ज्याङदेखि झुलाघाटसम्म गरेको संकल्प यात्राको वृत्तचित्र प्रस्तुत गरिने उनले बताए। त्यस्तै जाजरकोट र रुकुमपश्चिमको भूकम्पमा एमालेले स्वयंसेवक परिचालन गरेर भग्नावशेष पन्छाएको थियो। त्यस्तै अस्थायी आवासहरू निर्माण गरेको थियो।

त्यसको पनि वृत्तचित्र प्रस्तुत गरिने गुरूङले बताए।

यसपटक एमालेले प्रतिनिधिहरूका लागि आवास र खानाको प्रबन्ध गरेको छैन। उद्घाटन सत्र वैशाख ८ गते मध्याह्नपछि हुने गुरूङले बताए। दोस्रो दिनको सत्रमा बिहानीको खाना मात्र व्यवस्था गरिएको र आवासको प्रबन्ध प्रतिनिधिलाई नै गर्न भनिएको गुरूङले बताए।

‘पार्टीले व्यवस्थापन गर्नैपर्नेको हकमा भने सम्पर्क समन्वय कमिटीमार्फत् व्यवस्थापन गरिनेछ,’ उनले भने।

यातायातको प्रबन्ध भने केन्द्रीय सचिवालयले नै गर्ने उपमहासचिव गुरूङको भनाइ छ।

यसैबीच एमालेले नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा हीरक उत्सवको पनि आयोजना गर्दैछ। वैशाख १० गते गोदावरीमै हीरक उत्सव आयोजना हुने गुरूङले बताए।

 

प्रकाशित मिति: Apr 8, 2024

प्रतिक्रिया दिनुहोस्