Logo
१७ बैशाख २०८१, सोमबार
(April 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भद्रकालीमा भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई विभागीय कारबाही

 काठमाडौंको भद्रकालीमा हिँडिरहेका एक भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले सामाजिक सन्जालमा एक सूचना जारी गरी उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिएको हो ।

शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । सो क्रममा बाटोमा हिँडिरहेका दुईजना भिक्षुमाथि प्रहरीले दुर्व्यवहार गरेको थियो ।

एकजना भिक्षुमाथि प्रहरीले पछाडिबाट लात्ती प्रहार गरेको भिडिओ सामाजिक सन्जालमा भाइरल छ । धेरैले उक्त भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै गृहमन्त्री रवि लामिछाने र नेपाल प्रहरीको आलोचना गरिरहेका छन् ।

यो समाचार तयार पार्दासम्म यस घटनाबारे गृहमन्त्रालय र गृहमन्त्री रवि लामिछानेको प्रतिक्रिया आइसकेको छैन । तर नेपाल प्रहरीले भने भिक्षुमाथि भएको दुर्व्यवहारको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘साथै उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको व्यवहोरा समेत जानकारी गराउँदछौं,’ सूचनामा लेखिएको छ ।

प्रकाशित मिति: Apr 8, 2024

प्रतिक्रिया दिनुहोस्