Logo
३० बैशाख २०८१, आईतबार
(April 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजीनामापछि मुख्यमन्त्री पाण्डेले भने : गण्डकीमा अब जसले सक्छ उसैको सरकार

२१ चैत, पोखरा । विश्वासको मत लिनुको साटो राजीनामा दिएका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अब जसले सक्छ उसले सरकार बनाउने प्रतिक्रिया दिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएर निस्किएपछि पाण्डेले संसदमा विश्वासको मत पाउने स्थिति नभएकाले आफूले राजीनामाको बाटो रोजेको खुलाए ।

६० सदस्यीय प्रदेशसभामा एमालेमा-माओवादीलाई बहुमत पुर्‍याउन निर्णायक रहेको राप्रपाले तत्काल सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने बताएकाले पाण्डे राजीनामा दिएर फेरि मुख्यमन्त्री हुने रणनीतिकै साथ अगाडि बढेका थिए ।

राप्रपा अनिर्णित बन्दा एमाले (२२) र माओवादी (८) गठबन्धनलाई बहुमत नपुगोस् भन्ने कारणले नै स्वतन्त्र जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) लाई पाण्डेले मन्त्री बनाएका थिए ।

‘राप्रपाको समर्थनले धेरै अर्थ राख्छ यहाँ । राप्रपाले एउटा के निर्णय गर्‍यो भने, उहाँहरु २७ गतेसम्म आन्दोलनको चरणमा हुनुहुन्छ । त्यतिञ्जेल हामी सरकार बनाउने, ढलाउने खेलमा सम्मिलत हुन्नौं भनिसकेपछि मैले पार्लियामेन्टमा गएर विश्वासको मत लिनुपर्छ भन्ने ठानिनँ । मैले राजीनामाको बाटो रोजें’, मुख्यमन्त्री पाण्डेले भने ।

आफूले राजीनामा दिएपछि संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान हुने र त्यसमा पनि बहुमत पुर्‍याउन कसरत गर्ने पाण्डेले बताए ।

‘संविधानको धारा १६८ को २ बमोजिम सरकार बनाउन आह्वान हुन्छ भन्ने लाग्छ । मैले पनि दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सकें भने म यही प्रक्रियाबाट पनि मुख्यमन्त्री बन्छु, मैले सकिनँ र अरु दलले पुर्‍याउनुभयो भने उहाँहरु बन्नुहुन्छ । यो प्रक्रिया सकेपछिमात्रै ठूलो दलको बुँदामा प्रवेश हुन्छ’, उनले भने ।

राप्रपाले यदि एमाले–माओवादी गठबन्धनलाई समर्थन गरेमा बहुमत पुग्छ तर त्यो स्थिति तत्काल नदेखेकै कारणले पाण्डेले राजीनामाको बाटो हुँदै फेरि ठूलो दलको संसदीय दलको नेताका रुपमा मुख्यमन्त्री बन्ने योजना बनाएका छन् ।

अब प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ दिनको समय दिएर दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्ने र कसैले पनि दाबी पुर्‍याउन नसकेपछि धारा १६८ (३) अनुसार आफू ठूलो दलको संसदीय दलको नेताका रुपमा मुख्यमन्त्री बन्ने पाण्डेले बताए ।

प्रदेश प्रमुखले गठबन्धनको पक्षमा निर्णय गर्न सक्ने संशयकै बीच पाण्डेले अहिलेसम्मको अभ्यास हेर्न आग्रह गरेको सुनाए । अहिलेसम्म ७ दिनभन्दा लामो समय दिएर सरकार गठनको आह्वान गर्ने अभ्यास नदेखिएकाले त्यही सुझाव दिएको उनको भनाइ थियो ।

राप्रपाले २७ गतेपछि निर्णय गरेछ भने त्यसपछि स्वभाविक हिसाबले त्यसमा आफ्नो पनि दाबी रहने पाण्डेको भनाइ थियो । राप्रपाको साथ पाएरमात्रै पनि कांग्रेसको सरकार बन्ने स्थिति नरहेकोबारे पाण्डे भन्छन्, ‘त्यसपछि पनि कस–कसलाई लिएर बनाउन सकिन्छ त्यता लाग्ने हो ।’

वर्षमै २–३ पटक सरकार फेरिने गरी जे भइरहेको छ, त्यो ठीक नभएको मुख्यमन्त्री पाण्डेले बताए । जनताले सुशासन र स्थिरता खोजेको बताउँदै पाण्डेले पहिलेभन्दा सुधार गरिएको संविधानले पनि अस्थिरता नै बढाएको धारणा राखे ।

‘पहिलेको संविधानमा भन्दा केही संसदीय प्रक्रियालाई, सरकार निर्माण गर्ने प्रक्रियालाई पनि अलिकति स्थिरता दिने खालको बनाउनुपर्छ भनेर २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने, एक पटक अविश्वासको प्रस्ताव पारित गरेपछि फेरि एक वर्ष ल्याउन नपाउने बनायौं’, पाण्डेले त्यसले पनि निकास नदिएको बताए ।

‘मुलुकको नेतृत्व जसले गर्ने हो, उहाँ नै अस्थिर बनेका कारणले गर्दा यो समस्या ज्यूँकात्यूँ रह्यो’, पाण्डेले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डलाई दोष दिए ।

हरेक वर्ष ३ चोटी सरकार फेरबदल होस् भन्ने जनताको चाहना नभएको उनको भनाइ थियो । ‘यो कुरा राजनीतिक नेतृत्वमा बस्नेले गहिरिएर सोच्नुपर्छ,’ पाण्डेले भने, ‘यदि यसलाई सम्वोधन गर्न सकेनौं र मै सबै कुरा हुँ, मैले जे गर्छु त्यो नै ठीक हो, संवैधानिक रुपमा, कानुनी रुपमा ठीक होला तर जनताको मनमा यो ठीक भइराखेको छैन ।’

आर्थिक मन्दी, बेरोजगारीका कारणले गर्दाखेरी जनतामा नैराश्य सिर्जना भइराखेको अवस्थामा सत्ता फेरबदल भइरहने घटनाक्रमले आशा जगाउनेभन्दा निराशातिर धकेल्ने काम गरेको पाण्डेको निश्कर्ष छ ।

‘यस्ता घटनाक्रमले आशा जगाउनेभन्दा पनि निराशातिर लैजाने काम हामीले गरिराखेका छौं’, पाण्डेले भने, ‘हामीले ल्याएको व्यवस्थामाथि प्रश्न उठाउन चाहनेलाई मलजल भइराखेको छ ।’

गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएर नीति तथा कार्यक्रम र बजेट ल्याएका पाण्डेले एक वर्ष नपुग्दै राजीनामा दिएका छन् ।

प्रकाशित मिति: Apr 3, 2024

प्रतिक्रिया दिनुहोस्