Logo
१७ बैशाख २०८१, सोमबार
(April 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन विश्वविद्यालयमा किचलो सुरू, प्रधानमन्त्रीले रोके पदाधिकारीको नियुक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) र रजिष्ट्रारको नियुक्ति प्रक्रिया रोकिएको छ । उपकुलपति प्राडा केशरजंग बरालले सिफारिस गरेको रेक्टर र रजिष्ट्रारको नियुक्ति विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकेका हुन् ।

उपकुलपति बरालले सिफारिस गरेर पठाएका नामहरू रोकेर प्रधानमन्त्री प्रचण्ड सत्तारूढ दल नेकपा एमालेसँग छलफलमा लागेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै उपकुलपति बरालले सिफारिस गरेका नाममा असन्तुष्टि जनाएपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले नियुक्ति नगरी रोकेर राखेका हुन्

आफूले सिफारिस गरेका व्यक्तिलाई नियुक्ति नगरेको भन्दै उपकुलपति बराल भने असन्तुष्ट बनेका छन् । उपकुलपति बरालले रेक्टरमा प्राडा खड्क केसी र रजिष्ट्रारमा प्राडा केदार रिजाललाई नियुक्तिका लागि सिफारिस गरेका थिए ।

सिफारिस भएका केसी अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक हुन् भने रिजाल खुला विश्वविद्यालयका डीन र त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका प्राध्यापक हुन् ।

नेकपा एमाले र नेपाली कांग्रेसले आफूले भनेका व्यक्ति सिफारिसमा नपरेको भन्दै असन्तुष्टि जनाएका छन् । दुवै पार्टीको तर्फबाट सिफारिसमा परेका नामहरूमा असन्तुष्टि जनाएपछि कुलपतिले नियुक्ति रोकेको उपकुलपति कार्यालय स्रोतले जनाएको छ ।

कांग्रेस निकट प्रजातान्त्रिक प्राध्यापक संघले अध्यक्ष जगत तिमिल्सिना र एमाले निकट प्रगतिशील प्राध्यापक संगठनले अध्यक्ष प्राडा वेदराज केसीलाई बनाउन भनेका थिए ।

प्रचण्ड समेत सिफारिस गर्नुअघि आफूसँग कुनै छलफल नगरेको भन्दै उपकुलपति बरालसँग असन्तुष्ट थिए । त्यही क्रममा एमाले र कांग्रेसले समेत असन्तुष्टि जनाएपछि कुलपतिले नियुक्ति ‘होल्ड’ गरेका हुन् ।

सिफारिसमा परेका केसी एमाले र रिजाल कांग्रेस निकट हुन् । तर सिफारिस भएका खड्क केसी एमाले संस्थापन इतर समूहका भएकाले एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको नाममा चित्त नबुझाएको एमाले निकट स्रोतले जनायो । खड्क केसी कुनै समय माधव कुमार नेपाल निकट थिए ।

शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति सुमना श्रेष्ठ र उपकुलपति बराल मिलेर केसी र रिजालको नाम सिफारिस गरेका थिए । तर, कुलपतिले दुवै नाममा असन्तुष्टि जनाएको उपकुलपति कार्यालयका एक अधिकारीले बताए ।

‘कुलपति समक्ष पेस गरिएको हो । उपकुलपति सरसँग के कुरा भयो, थाहा भएन । तर, सिफारिस भएको नाममा सन्तुष्ट देखिनुभएको छैन । नत्र हिजै नियुक्ति भइसकेको हुन्थ्यो,’ ती अधिकारीले भने ।

त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकका अनुसार एमाले र कांग्रेसको तर्फबाट भनेका व्यक्ति सिफारिसमा नपरेपछि कुलपतिले नियुक्ति रोकेका हुन् । ‘ओलीले भनेको प्राडा वेदराज केसी हुन् । उनी प्रगतिशील प्राध्यापक संगठनको केन्द्रीय अध्यक्ष हुन् । उनी सिफारिसमै परेका थिएनन् । सिफारिसमा नपरेपछि कुलपतिले रोक्नुभएको छ । संघको तर्फबाट जगत तिमिल्सिनालाई बनाउनुपर्ने भन्ने थियो,’ ती प्राध्यापकले भने ।

तिमिल्सिना त मापदण्डभन्दा बाहिर भएकाले आवेदन नै दिनबाट रोकिएका थिए । बेदराज केसीले आवेदन दिए पनि उनी छनौटमा परेका थिएनन् ।

उपकुलपति बरालले रेक्टर र रजिष्ट्रारका लागि बायोडाटा माग गरेका थिए । त्यसमा ११० जना प्राध्यापकले आफ्नो बायोडाटा पठाएको उपकुलपति कार्यालयले जनाएको छ । आवेदन दिएकाहरूमध्ये के मापदण्डको आधारमा २ जनाको नाम सिफारिस गरिएको भन्ने कुनै जानकारी छैन ।

‘गतिला व्यक्ति परेनन् । उपकुलपतिले के आधारमा नियुक्ति सिफारिस गर्नुभयो भन्ने कुुरा प्रमुख हो । एमालेको नाममा खड्क सर र कांग्रेसको नाममा रिजाल सर भनेर पठाएका हुन् । तर, आधार केही छैन,’ ती प्राध्यापकले भने ।

उनले मेट्रोक्रेसी तथा पार्टीगत वा व्यक्तिगत समेत कुनै आधारविनै सिफारिस गरेको ती प्राध्यापकको भनाइ छ । सिफारिसमा परेका दुवै जना उपकुलपति बरालसँगै पोखरा विश्वविद्यालयमा सँगै काम गरेका प्राध्यापक हुन् । सोही आधारमा उनले आफ्नो टिम बनाउन खोजेको हुन सक्ने स्रोत बताउँछ ।

चौतर्फी दबाब

गत फागुन ११ गते बराल उपकुलपति बनेका थिए । उपकुलपति बनेसँगै उनले आफ्नो टिम आफैँले छान्न पाउनुपर्ने बताउँदै आएका थिए । सोही आधारमा चैत ६ गते सार्वजनिक सूचना मार्फत ईच्छुक प्राध्यापकहरूसँग बायोडाटा माग गरेका थिए । दुवै पदका लागि कम्तीमा प्राध्यापक उपाधि प्राप्त गरेको हुनुपर्ने मापदण्ड तोकिएको थियो ।

एमाले र कांग्रेसले भनेका दुवै जना नपरेपछि कुलपतिलाई दबाब दिएर नियुक्ति रोकिएको भन्ने आफूहरूले बुझेको उपकुलपति निकट स्रोतले बतायो । त्यसका लागि उपकुलपति बरालमाथि चौतर्फी दबाब सिर्जना गरिएको छ । केही दिन अगाडि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु, कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ लगायतले उपकुलपतिलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । विद्यार्थीको ज्ञापनपत्र बुझेको भोलिपल्टैबाट उपकुलपति बराल बिदामा बसेका हुन् ।

उनी चौतर्फी दबाव थेग्न नसकेर बिदामा बसेका छन् । तर, उपकुलपतिको सचिवालयले भने बिरामी भएकाले बिदामा बसेको जनाएको छ । बिदाको समयमा अत्यावश्यक कार्यहरू घरबाटै तथा भर्चुअल माध्यमबाट गर्दै आएको सचिवालयले जनाएको छ । कुलपतिले सिफारिस गरेकै व्यक्तिहरूलाई नियुक्ति गर्नेमा आफू विश्वस्त रहेको उपकुलपति बराललाई उद्धृत गर्दै उनको सचिवालयले बतायो ।

‘रेक्टर र रजिष्ट्रारमा सिफारिस गरेकै व्यक्तिहरू नियुक्त भएर आउनुहुन्छ भन्नेमा उपकुलपति विश्वस्त हुनुहुन्छ,’ सचिवालय स्रोतले भन्यो ।

प्रकाशित मिति: Apr 3, 2024

प्रतिक्रिया दिनुहोस्