Logo
२४ बैशाख २०८१, सोमबार
(April 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन आयोगको कारबाही सिफारिसमा पुनर्विचार गर्न भन्दै गृहमन्त्रीसमक्ष उजुरी

२० चैत, काठमाडौं । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमाथि पुनर्विचार गर्न भन्दै एक जना डीएसपीले गृह मन्त्रालयमा निवेदन दिएका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत् डीएसपी रुगम कुँवरले प्रतिवेदनले आफूलाई कारबाही सिफारिस गरेको विषयमा पुनर्विचार र छानबिन गर्न माग गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निवेदन दिएका हुन् ।

आइतबार मन्त्रालयमा पुगेर डीएसपी कुँवरले आयोगले आफूलाई कारबाही गर्न सिफारिस गरेकोप्रति आपत्ति जनाउँदै सिफारिसमाथि पुनर्विचर गर्न माग गरेको प्रहरी स्रोतले बतायो । स्रोतका अनुसार, कुँवरको प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर र गृहसचिव एकनारायण अर्याललाई समेत निवेदनको बोधार्थ बुझाएका छन् ।

मन्त्रालयका एक अधिकृतका अनुसार, निवेदनमा कुँवरले आफू सुनको अनुसन्धानमा समेत नभएको बताउँदै आफूलाई आयोगले अनावश्यक रुपमा मुछेको दाबी गरेका छन् । एकैतिर घर भएकाले अभियुक्त जीवन चलाउनेसँग पहिलेदेखि नै सम्पर्क भएपनि सुन अनुसन्धानका विषयमा आफू सम्बन्धित नै नभएको उनले बताएका छन् ।

‘आयोगले अमुक व्यक्तिसँग गरेको म्यासेज र टेलिफोन सम्पर्कको विवरण राखेर विभागीय कारबाहीको सिफारिस गरेको तर, त्यसरी उल्लेखित म्यासेज आफ्नो नभएको र ५३ कल भएकामा अझै बढी अंक राखेर कारबाही सिफारिस गरिएको उहाँले दाबी गर्नुभएको छ’ गृह स्रोतले भन्यो ।

आयोगले सीआईबीले अभियुक्त जीवन चलाउनेलाई कागज गराएर छाडेको आरोपमा निर्देशक किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र कुँवरलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । यसपछि सबै अधिकृतहरु जिम्मेवारीबाट हटाइएका थिए ।

बज्राचार्य त्यसबेला सीआईबी प्रमुख थिइन् भने एसपी थापा र दाहाल सुन अनुसन्धानमा संलग्न थिए । कुँवर भने सीआईबीका मुद्दा शाखा प्रमुख थिए ।

आयोगले गरेको जाँचका क्रममा अभियुक्त चलाउनेलाई कार्यालयमा ल्याएर कागज गराएर छाडेको पाइएको थियो । फरार आरोपी चलाउने स्वयम् आयोगका पदाधिकारीसँग सम्पर्कमा आएर आफू सीआईबी पुगेर फर्किएको बताएका थिए ।

केहिअघि चलाउनेले  कुरा गरेर सीआईबीका एसपी थापा र डीएसपी दाहालले आफूसँग भेटेर ६० लाख रुपैयाँ मागेको तर, नदिएपछि प्रतिवादी बनाएको दाबी गरेका थिए । चलाउनेको सुन प्रकरणका मुख्य आरोपी बेल्जियन नागरिक दावा छिरिङसँग सम्बन्ध देखिएको थियो ।

प्रकाशित मिति: Apr 2, 2024

प्रतिक्रिया दिनुहोस्