Logo
३० बैशाख २०८१, आईतबार
(April 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमतीमा विना विभागीयमन्त्री रमा आलेमगरले लिइन् शपथ

२० चैत, हेटौंडा । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) बाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार बिहान उनलाई विना विभागीय मन्त्रीको शपथ गराएका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मगरलाई सोमबार मन्त्री नियुक्त गरेका थिए । मन्त्रालयको जिम्मेवारी सात दिनभित्र टुंग्याउने प्रतिबद्धता मुख्यमन्त्रीले जनाएको मगरले बताइन् ।

मगर एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद हुन् । चन्द्रागिरी नगरपालिकाकी रमा काठमाडौं क्षेत्र नम्बर १० (२) बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । मगर प्रदेशसभाको पहिलो कार्यकालमा पनि सांसद थिइन्

उनी एक वर्षअघि चैतमै भएको सरकार विस्तारको क्रममा शपथको निम्तो पाएर पनि खाली हात काठमाडौं फर्कनु परेको थियो ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालय दिने भनेर काठमाडौंबाट बोलाइए पनि अन्तिममा निर्णय परिवर्तन भएको भन्दै उनलाई फर्काइएको थियो ।

बागमतीमा नेकपा (एकीकृत समाजवादी)बाट श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल र कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ छन् । उनीहरु गत चैतमा गठित नेपाली कांग्रेससहितको सरकारमा मन्त्री नियुक्त भएका थिए ।

बागमतीमा अझै चार वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । ती मन्त्रालयहरुमा एकीकृत समाजवादी र एमालेबीच भागबण्डाको टुंगो मंगलबार लगाइने तयारी भइरहेको एक सांसदले बताए । एमालेले नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये ५ वटामा दाबी गरेको थियो ।

जसमध्ये एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया १७ चैतमा आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भइसकेका छन् । रिक्त ६ वटा मन्त्रालयमध्ये १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री भइसकेका छन् ।

बागमती प्रदेश सरकारका १२ वटा मन्त्रालयहरुमध्ये माओवादी केन्द्रले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाइसकेको छ । गंगानारायण श्रेष्ठ आन्तरिक मामिला, युवराज दुलाल भौतिक पूर्वाधार र कुमारी मुक्तान सामाजिक विकास मन्त्री छन् ।

मुख्यममन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय र स्वास्थ्य मन्त्रालय आफैंसँग राखेका छन् ।

प्रकाशित मिति: Apr 2, 2024

प्रतिक्रिया दिनुहोस्