Logo
१५ बैशाख २०८१, शनिबार
(March 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्वपाले स्वास्थ्यमन्त्रीलाई बुझायो २६ बुँदे सुझाव

१५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव पत्र बुझाएको छ ।

बिहीबार मन्त्रालयमा रास्वपा स्वास्थ्य तथा जनसंख्या विभागका तर्फबाटस्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र उपप्रधानमन्त्री यादवलाई बुझाइएको हो । रास्वपाले आधारभूत स्वास्थ्यसेवालाई निःशुल्क कार्यक्रमको डुप्लिकेसनबाट अलग गर्नुपर्ने, इमर्जेन्सी स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वभित्र पारिनुपर्ने माग गरेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै अझै सशक्त, सहज र पारदर्शी बनाउनका लागि एक स्वतन्त्र थिङ्क ट्याङ्क बनाउनुपर्ने, तोकिएका औषधिको दायरा बढाउँदै स्टक सुनिश्चित गर्ने, स्वास्थ्य बीमाको दाबी प्रणालीलाई चुस्त बनाउने, बिमित एवं सेवा प्रदायकको सूचना तथा संचारका लागि लागि तीन अंकको हटलाइनको व्यवस्था गर्ने जस्ता कामहरु अविलम्व गर्नुपर्ने माग राखेको छ ।

सुझाव पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीकी सांसद डा. तोसिमा कार्कीले अहिलेका स्वास्थ्य क्षेत्रमा रहेका समस्या र त्यसको समाधानका लागि २६ बुँदे सुझाव पत्र बुझाएको बताइन् ।

उनले वीर अस्पतालमा २७/२८ वटा आईसीयू बेड दैनिक खाली रहेको, भेन्न्टिलेटरहरु पनि खाली रहेको तर नागरिकले यही सेवा निजी अस्पतालमा महंगोमा लिनुपरेको विषय स्वास्थ्यमन्त्रीलाई जानकारी गराएको पनि बताइन् ।

‘ठूला सरकारी अस्पतालमा यस्ता सेवाहरु धेरै नै खाली छन्, कुन अवस्थामा छ र कति खाली छ भनेर नागरिकले हेर्न मिल्नेगरी व्यवस्था गरी सूचना केन्द्र बनाएर वा वेबसाइटमा राख्नुपर्छ भन्ने माग छ’, डा. कार्कीले भनिन् ।

उपचार तथा स्वास्थ्य सेवाको शुल्क नतोकिएका कारण अस्पतालहरुले मनोमानी रुपमा शुल्क लिने गरेको भन्दै रास्वपाले उपचार तथा स्वास्थ्य सेवाको मूल्य तोक्न सुझाव दिएको छ । चिकित्सक तथा स्वास्थ्य मानव स्रोतको सुनिश्चित व्यवस्थापन गर्न आवश्यक दरवन्दी सिर्जना गर्ने एवं वैज्ञानिक ढंगको परिचालन विधि लागु गर्नुपर्ने पनि रास्वपाको सुझाव छ ।

एम्बुलेन्सको गुणस्तर, उपलब्धता एवं सेवाका सम्बन्धमा विद्यमान निर्देशिका कडाइका साथ लागू गर्दै मापदण्ड नपुगी हाल चलिराखेका एम्बुलेन्सलाई तुरुन्तै विस्थापित गर्नुपर्ने पनि रास्वपाको सुझाव छ ।

प्रकाशित मिति: Mar 28, 2024

प्रतिक्रिया दिनुहोस्