Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशी र मधेशका केही स्थानमा भारी वर्षा, काठमाडौंमा आज पनि पानी पर्ने

 कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीबाट जलवाष्पयुक्त वायु आइरहेको र स्थानीय वायुको प्रभावले केही दिनयता दिनहुँ पानी परिरहेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए ।

‘बंगालको खाडीबाट जलवाष्पयुक्त वायु आइरहेको छ र पि्रमनसुन सक्रिय रहेकाले पानी मेघगर्जन चट्याङसहित पानी पर्ने गरेको छ,’ उनले भने, ‘आगामी तीन दिनसम्म अहिलेको जस्तै अवस्था रहने देखिन्छ ।’

उनका अनुसार यसको प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम छ ।

गएराति देशका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित वर्षा भएको छ । मधेश र कोशी प्रदेशका दक्षिणी भागमा गत २४ घण्टामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।

सुनसरीको चतरामा ५९ मिलिमिटर र सिराहाको गोलबजारमा ५६ मिलिमिटिर वर्षा मापन भएको छ । यसैगरी झापाको अनारमनीबिर्तामा २७ र मोरङको हरैंचामा २५.८ र उदयपुरको कटारीमा २४ मिलिमिटर वर्षा भएको छ । नवलपरासीको परासीमा ३८.८, नवलपरासीको सेमरीमा ३३.६, नवलपुरको देउरालीमा २६ मिलिमिटर वर्षा मापन भएको छ ।

आज बिहान पनि कोशी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद प्रधानाङ्गले काठमाडौं उपत्यकामा पनि आज अपराह्नपख हल्का पानी पर्ने सम्भावना रहेको बताए ।

साथै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले बुलेटिन जारी गरेर अनुरोध समेत गरेको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ । बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना समेत रहेको बुलेटिनमा उल्लेख छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति भने देशभर आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा हुने पूर्वानुमान छ ।

बुधबारको दिन दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

बुधबार राति भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा बदली हुने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: Mar 26, 2024

प्रतिक्रिया दिनुहोस्