Logo
१६ बैशाख २०८१, आईतबार
(March 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘साहारा किस्ताबन्दी कार्यक्रम’को नाममा करोडौं उठाएर सञ्चालक फरार

 नागरिकको बचत रकमको नियमन गर्ने जिम्मेवारी बोकेको हेटौंडा उपमहानगरपालिका कार्यालय अगाडि विना दर्ता सञ्चालित एक संस्थामा बचतकर्ताको एक करोड रुपैयाँभन्दा बढी रकम जोखिममा परेको छ ।

हेटौंडा-२, स्थित उपमहानगरपालिका कार्यालय नजिकै सन्चालित ‘साहारा किस्ताबन्दी कार्यक्रम’मा सञ्चालक दम्पती सम्पर्कविहीन भएपछि बचतकर्ताको रकम जोखिममा परेको हो । साहाराको सञ्चालक हेटौंडा-८, कमाने घर भएका सरोज थापा र बिनिता पौडेल हुन् । उनीहरु श्रीमान्-श्रीमती हुन् ।

उनीहरुले २०५८ सालदेखि नगरपालिका रोडमा साइन बोर्डविना साहारा किस्ताबन्दी कार्यक्रम सन्चालन गरेका थिए । तर, २०८० सालमा आएर साहाराले नाम अनुसारको काम नगरेपछि ६ सय बचतकर्ता र त्यहाँ कार्यरत पाँच जना कर्मचारी तनावमा छन् ।

कार्यालय गत आइतबारदेखि बन्द छ । कार्यालय अगाडि दैनिक दर्जनौंको संख्यामा बचतकर्ताहरुको भीड लाग्ने गरेको छ । त्यही भीडका एक सदस्य हेटौंडा-२, वनसखण्डी बस्ने अम्बिका गोतामेले आफ्नो ८ लाख बचत रकम जोखिममा परेको बताइन् ।

सिलाइकटाइको काम गदै आएकी उनले दुई छोरी, बाबु र आफ्नो नाममा ५ वटा पास बुक बनाएर बचत गर्दै आएकी थिइन् । ७ वर्ष अघिदेखि रकम बचत गर्दै आएको बताउने गोतामेले भनिन्, ‘म पढेको मान्छे हैन । सञ्चालकलाई पनि चिन्दिनँ । काम गर्ने केटीहरु आएर राम्रो हुन्छ भनेपछि सधैं बचत गरेकी हुँ । अहिले यस्तो हुँदा मलाई मर्नु र बाँच्नु भएको छ । ६ दिनदेखि रातभर निदाउन सकेको छैन ।’

सहाराले ऋण प्रवाह नगर्ने र बचत रकम संकलन मात्रै गर्ने बताएकाले आफूले पैसा जम्मा गरेको उनी बताउँछिन् । ‘म जस्तै ६ सय जना जतिको बचत रहेछ । कसैको २० लाख, कसैको १० लाख पनि रहेछ । सबैको कुरा सुन्दा पैसा त करोड नै रहेछ,’ उनले सुनाइन् ।

विगत ४ वर्षदेखि बचत गर्दै आएकी रुबिका अधिकारीले पनि एक लाख रकम बचत गर्ने धेरैजना रहेको बताइन् । आफ्नो भने ५८ हजार रुपैयाँ बचत रहेको अधिकारीले उल्लेख गरिन् ।

हेटौंडा उपमहानगरपालिका कार्यालयले साहारा किस्ताबन्दी कार्यक्रम संस्थामा नगर क्षेत्रका स्थानीयले २० लाखदेखि ५० हजार रुपैयाँसम्म बचत गरेको खुलेको जनाएको छ ।

बचतकर्ताहरुले दिएको जानकारीअनुसार एक करोडभन्दा माथि रकम हिनामिना भएको हेटौंडा उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलले बताए । ‘सोधपुछ गर्दा २०, १०, ५ लाखसम्म बचत रहेको थाहा पायौं । ६ सय जनाको धेरथोर गर्दा पनि एक करोडमाथि बचत हुन आउने देखिन्छ । त्यो बचत रकम ४-५ करोड पनि पुग्न सक्छ । ठ्याक्कै यति रकम जोखिममा रहेको भनेर खुलिसकेको छैन,’ पौडेलले भने ।

दर्ताविना सञ्चालन

०५८ सालेखि खुलेको संस्थाको व्यवसाय दर्ता उपमहानगरपालिकामा नरहेको उनले बताए । जिल्ला प्रशासन कार्यालयमा पनि दर्ता भेटिएको छैन । संस्था भागेपछि मात्रै बचत भइरहेको थाहा पाएको पौडेल बताउँछन् । ‘भागेपछि मात्रै खुल्यो । त्यहाँ बचत गरिरहेको कुरा बचतकर्ताहरुले सूचना पनि गरेनन् । हामीले त्यसरी बचत गरेकालाई खोजीखोजी राखेका थियौं । साहारा भनेपछि अन्य प्रयोजन होला भन्ठानेको त्यसरी बदमास गरेको रहेछ,’ उनले भने ।

कर्मचारीलाई बोलाएर सोधपुछ गर्दासमेत संस्थाको दर्तालगायतका कागजातबारे नखुलेको उनले बताए ।

पौडेलले सहारा किस्ताबन्दी कार्यक्रममा सुरुवातमा गैरसरकारी संस्थाको रुपमा खुलेको र पछिल्ला वर्षमा बचतलगायतका कार्य गर्न थालेको हुन सक्ने सोधपुछबाट खुलेको जनाए । सहारा किस्ताबन्दी कार्यक्रमले पछिल्ला वर्ष बचतकर्ताको रकम संकलन गर्ने र घरायसी सामान किस्ताबन्दीमा उपलब्ध गराउँदै आएको थियो ।

रकम संकलन गर्ने, किस्ताबन्दीमा घरायसी सामान दिने

बचत संकलक कर्मचारी अनिता महतकाअनुसार करिब ६ सय जनाले नियमित बचत गर्दै आएका थिए । सञ्चालक थापाले हरेक ३० प्रतिशत अगि्रम भुक्तानी लिएर ७० प्रतिशत रकम किस्ताबन्दीमा घरायसी सामान उपलब्ध गराउँदै आएका थिए । किस्तामा सामान दिए वापत थापाले निश्चित मुनाफा राख्ने गरेको महत बताउँछिन् ।

संस्थाको नाममा चार जनाले घर वा पसलहरुमा पुगेर नियमित रकम संकलन गर्दै आएका थिए । बचत रकमको हरहिसाब थापा दम्पतीले नै राख्ने गरेको महतले बताइन् । ‘आइतबार अफिस बन्द भएपछि उहाँहरुको खोजी गरेको हो । अहिलेसम्म कहाँ हुनुहुन्छ भनेर थाहा पाएका छैनौं । सरोज र बिनाले छोरीलाई घरमै छोडेर छोरो लिएर हिँडेको थाहा पायौं,’ कर्मचारी महतले भनिन्, ‘घरमा गएर कुरा गर्दा बुबाले घरमा पनि नरहेको बताउनु भयो । दुवै जनाको मोबाइल अफ छ । घरमा पनि उहाँहरुको राम्रो व्यवहार नभएको थाहा पायौं ।’

विगत १५ वर्षदेखि संस्थामा जागिर खाएको बताउँदै महतले आफू निर्दोष रहेको बताइन् । उनले भनिन्, ‘यति लामो समयसम्म काम गर्दा उहाँहरुको गलत काम सुनेका थिएनौं । अहिले एक्कासी सोच्दै नसोचेको घटना भयो । दोष हामीमाथि लगाइएको छ । हाम्रो कुनै दोष छैन । हामीले बचत ल्याइदिने काम मात्रै गरेको हो ।’

महतसहित कर्मचारी सिता पौडेल, गंगा अधिकारी, अनिता तामाङ श्रेष्ठ र केवल थापाले ३० फागुनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सञ्चालक थापा दम्पती खोजी गरिदिन माग गर्दै निवेदन दिएका छन् । सञ्चालक सम्पर्कविहीन भएको र कार्यालय पनि नखुलेकाले बचतकर्ताहरुबाट अप्ठेरो परिस्थति परेको भन्दै उनीहरुले निवेदन दिएका हुन् ।

प्रशासनले ३० फागुनमै जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई सञ्चालक थापा दम्पती खोजी गरी उपस्थित गराउन पत्र काटेको छ । बचतकर्ताहरुले भने आइतबारसम्म सम्बन्धित निकायमा उजुरी दर्ता गराएका छैनन् ।

प्रकाशित मिति: Mar 19, 2024

प्रतिक्रिया दिनुहोस्