Logo
१५ बैशाख २०८१, शनिबार
(March 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चैतमा ५ फिल्म : प्रेमदेखि पौराणिक कथाका विषयवस्तु, कलाकारमा भेराइटी

नेपाली फिल्म व्यवसायका लागि गत फागुन पनि उत्साहजनक हुन सकेन । फागुन लाग्दै गर्दा फिल्मकर्मीमा फिल्मको व्यवसाय राम्रो हुने अपेक्षा थियो । किनभने राम्रा मेकर र कलाकारले भरिएका ६ फिल्म रिलिजको तरखरमा थिए । तर महिना सकिँदै गर्दा फिल्मकर्मीको अपेक्षामा तुषारापात भयो ।

फागुनमा ‘जिग्री’, ‘गोर्खा वारियर’, ‘अगस्त्य’, ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’ गरी ६ फिल्म प्रदर्शनमा आए । कुनै साता सिङ्गल र कुनै साता एकसाथ तीन गरेर ६ फिल्म प्रदर्शनमा आएको यो महिना कुनै पनि फिल्मले बम्पर व्यवसाय गर्न सकेन । ६ मध्ये तीन फिल्म ‘अगस्त्य’, ‘उपहार’, ‘रंगेली’ले भने तुलनात्मक रुपमा राम्रो व्यवसाय गरेको देखियो ।

‘उपहार’ र ‘रंगेली’ अहिले पनि प्रदर्शनरत छन् । ‘काँडेतार’लाई भने निर्माण युनिटले शो कम दिएको भन्दै प्रदर्शनको २ दिनमै उतारियो ।

फागुनको तुलनामा चैतमा एक फिल्म कम हुने देखिएको छ । अर्थात् चैतमा अहिलेसम्मको रिलिज क्यालेन्डर अनुसार ५ फिल्म रिलिज हुने देखिएको छ । चैतमा प्रदर्शनमा आउने फिल्म हुन् ‘महाजात्रा’, ‘सलिना’, ‘बन्द्रीबहादुर’, ‘द रेड सुटकेस’ र ‘डिग्री माइला’ ।

‘द रेड सुटकेस’ र ‘डिग्री माइला’ आगामी ३० गते एक अर्काेसँग भिड्ने तयारीमा छन् भने अन्य तीन फिल्म फरक फरक मितिमा सिङ्गल आउन लागेका हुन् । ‘महाजात्रा’ आगामी शुक्रबार, ‘सलिना’ १६ गते र ‘बन्द्रीबहादुर’ २३ गते प्रदर्शनमा आउँदैछन् ।

भेराइटी फिल्म

फिल्म मेकरले नेपाली दर्शकको टेष्ट अहिलेसम्म बुझ्न सकेका छैनन् । किनभने नेपाली दर्शक कहिले प्रेमकथा त कहिले कमेडी रुचाउँछन् । कहिले सामाजिक कथाका फिल्ममा पनि दर्शक झुम्मिन्छन् भने कहिले विदेशी एनिमेशनदेखि विभिन्न फिल्ममा रमाएको देख्न सकिन्छ ।

यसरी भेराइटी फिल्म खोज्ने दर्शकका लागि चैत महिनामा रिलिज हुने फिल्म उपयुक्त देखिन्छन् । किनभने चैतमा कमेडी, एनिमेशन, प्रेमकथादेखि सामाजिक कथासम्मका फिल्म रिलिज हुँदैछन् ।

चैतको दोस्रो शुक्रबार अर्थात ९ गते फिल्म ‘महाजात्रा’ रिलिज हुँदैछ । ‘महाजात्रा’ कमेडी फिल्म हो । प्रदीप भट्टराईको निर्देशन रहेको फिल्ममा एउटा नेताले गलत तरिकाबाट कमाएको पैसा लुकाउन गर्ने संघर्षमा आधारित कथा छ ।

त्यस्तै तेस्रो शुक्रबार अर्थात् १६ गते प्रदर्शनमा आउने ‘सलिना’ एनिमेटेड फिल्म हो । रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बेनेको यो फिल्ममा नेपाली प्राविधिक र नेपाली भाषामा प्रयोग भएको छ । यो फिल्म तेजस राज जोशीले निर्देशन गरेका हुन् ।

‘बद्री बहादुर’ सामाजिक कथामा बनेको फिल्म हो । शोभित बस्नेत निर्देशित फिल्ममा प्रेमकथा छ । फिल्म चैत २३ गते प्रदर्शनमा आउँदैछ । एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा यो निर्माण भएको हो ।

त्यस्तै चैतको अन्तिम शुक्रबार रिलिज हुने फिल्म ‘द रेड सुटकेस’ र ‘डिग्री माइला’ एकै मितिमा आउन लागे पनि फरकफरक विषयका फिल्म हुन् । फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ले विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा महत्त्वपूर्ण अवार्ड जितिसकेको छ । फिल्ममा मध्यम तथा न्यून वर्गीय नेपाली समाजका युवाहरूको कथा छ । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर फिल्मको कथा बुनिएको निर्देशक देवकोटा बताउँछन् ।

‘डिग्री माइला’ रामबाबु गुरुङ निर्देशित फिल्म हो । शैक्षिक बेरोजगारीको कथा बताइएको फिल्मले ‘किन चाउरिस् मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ । फिल्म थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथामा बनेको हो ।

कस्ता छन् कलाकार ?

चैतमा रिलिज हुने फिल्म मार्फत दर्शकले फरक कथा मात्र होइन, भेराइटी कलाकारको अभिनय समेत देख्न पाउनेछन् । एक फिल्ममा त उनीहरूले एनिमेसन कलाकार समेत देख्न सक्नेछन् । चैत ९ गते रिलिज हुने फिल्म ‘महाजात्रा’ हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायत कलाकारको अभिनय देख्न सकिन्छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन् ।

त्यस्तै १६ गते रिलिज हुने ‘सलिना’का दर्शकले एनिमेटेड कलाकार देख्ने छन् । विशेष गरेर बालबालिका लक्षित यो फिल्म श्री ब्यांकटेश इन्टरटेन्डमेन्ट प्रा.लिको तर्फबाट मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्दैछन् । फिल्ममा पाश्र्व आवाज बाहेक अन्य कुनै भौतिक पात्रको प्रयोग भएको छैन । दर्शकले पौराणिक कथामा सुन्दै आएका पात्र फिल्ममा पनि पाउनेछन् । पहिलो चरणमा मल्टिप्लेक्स रिलिज हुने फिल्म दोस्रो चरणमा सिङ्गल थियटरमा लाग्ने बताइन्छ ।

‘बद्री बहादुर’ जयकिसन बस्नेत, छुल्ठिम गुरुङ राजीवजंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाई लगायतको अभिनय रहेको फिल्म हो । फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेतको विशेष भूमिका छ । रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मका निर्माता हुन् । यो फिल्मलाई आरआर फिल्मस्ले देशभर प्रदर्शन गर्न लागेको हो ।

‘द रेड सुटकेस’ सौगात मल्ल, विपिन कार्की र सृष्टी श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म हो । गत सेप्टेम्बरमा भेनिस फिल्म फेस्टिबलमा वर्ल्ड प्रिमियर भइ दुई महत्त्वपूर्ण अवार्ड हासिल गरेको फिल्म संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभलमा पनि छनौटमा परेको थियो । रामकृष्ण पोखरेल, शोभा थापा फिल्मका निर्माता हुन् ।

पछिल्लो समयका सर्वाधिक व्यस्त कलाकार दयाहाङको मुख्य भूमिकामा रहेको फिल्म हो ‘डिग्री माइला ः एमए थर्ड क्लास’ । फिल्ममा दयाहाङका अलावा आँचल शर्मा,  विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय छ । फिल्म बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको हो ।

प्रकाशित मिति: Mar 18, 2024

प्रतिक्रिया दिनुहोस्