Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न कांग्रेसको प्रस्ताव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न प्रस्ताव गरेको छ । सरकारले फागुन २९ गतेका लागि राष्ट्रिय सभा अध्यक्ष चयनका लागि मिति तय गरेपनि आफ्नो दलसँग छलफल नगरी एकतर्फी रूपमा तय गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभाको पहिलो ठुलो दल र राष्ट्रिय सभाको दोस्रो ठुलो दलसँग छलफल नगरी सरकारले एकतर्फी रूपमा निर्वाचनको मिति तय गरेकोमा कांग्रेसको आपत्ति रहेको बताए । उनले कांग्रेससँग छलफल गरेर अर्को मिति तोकेर निर्वाचनको मिति तय गर्नुपर्ने उल्लेख गरे ।

कुरा गर्दै प्रमुख सचेतक लेखकले भने–‘कांग्रेसलाई सोध्दै नसोधीकन यति गते चुनाव गर्ने भनेर हुन्छ ? राष्ट्रिय सभामा कांग्रेस दोस्रो ठुलो दल हो । हामीलाई त कसैले सोधेको छैन कति गर्ने चुनाव गर्ने भनेर । बजारमा भोलि गर्ने, पर्सी गर्ने भनेर हल्ला सुनिँदै छ । त्यसकारण हाम्रो समेत सल्लाहमा चुनाव गर्नुपर्छ भन्ने हाम्रो कुरा हो ।’

राष्ट्रिय सभामा दोस्रो ठुलो दलको रुपमा रहेको कांग्रेससँग अध्यक्षको निर्वाचनको मिति बारे सल्लाह नभएको लेखकले बताए ।  उनले अगाडि भने–‘कांग्रेससँग सल्लाह नै नगरीकन एकतर्फी रूपले राष्ट्रिय सभाको अध्यक्ष उपाध्यक्षको निर्वाचनको मिति तोक्ने कुरा बेठीक हो । अहिले त मिति तोकिएकै छैन, कुनै मिति तोकिएको छ भने कांग्रेसको सल्लाहमा तोकिएको हैन । प्रतिनिधि सभाको सबैभन्दा ठुलो पार्टी, राष्ट्रिय सभाको दोस्रो ठुलो पार्टीसँग सल्लाह नै नगरी मिति तोक्नु परम्पराको पनि विरुद्ध हो । हाम्रो समेत सल्लाहमा मिति तोक्नुपर्छ भन्ने हाम्रो कुरा हो ।’

फागुन २९ गतेका लागि राष्ट्रिय सभा अध्यक्षको निर्वाचन तोकिएको छ भने त्यसको एक दिन अगाडि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ताको मिति तय गरिएको छ ।

गत माघ ११ गते भएको निर्वाचनबाट राष्ट्रिय सभामा नेपाली कांग्रेसका १० सांसद निर्वाचित भएर आएका छन् । यो सभामा कांग्रेस १६ सांसद सहित दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको माओवादी केन्द्रका १८ सांसद रहेका छन् । तेस्रो स्थानमा रहेको  एमालेका १० सांसद रहेका छन् ।

प्रकाशित मिति: Mar 10, 2024

प्रतिक्रिया दिनुहोस्