Logo
१२ श्रावण २०८१, शनिबार
(February 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धन भत्किन नदिन प्रचण्डलाई माधवको सुझाव

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा अध्यक्ष कसले लिने भन्ने विषयमा देखिएको विवादका कारण सत्ता गठबन्धन भत्किन नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस र सरकारको समेत नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र दुवैले राष्ट्रिय सभाको अध्यक्ष ताकेपछि अध्यक्ष नेपालले प्रचण्डलाई भेटेर यस्तो सुझाव दिएका हुन् ।

अध्यक्ष नेपाल प्रचण्डलाई भेट्न मंगलबार बिहान उपाध्यक्ष राजेन्द्र पाण्डेसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यसक्रममा राष्ट्रिय सभा अध्यक्षबारे कांग्रेस र माओवादीले गरिरहेको दाबीबारे नेताहरूबिच छलफल भएको थियो ।

भेटमा अध्यक्ष नेपालले राष्ट्रिय सभामा कांग्रेस र माओवादी दुवैले दाबी गर्ने देखियो, यसले गठबन्धनमै समस्या आउने त होइन ? भनेर प्रचण्डसँग जिज्ञासा राखेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीभित्र राष्ट्रिय सभाको अध्यक्ष माओवादीले छोड्न नहुने दबाब रहेको भन्दै यदि छोडेमा आगामी दिनमा संवैधानिक परिषद्मा माओवादी शून्य हुने अवस्था आउने भएकाले पनि आफ्नो पार्टीले दाबी गर्नु स्वाभाविक रहेको बताएका थिए ।

‘प्रधानमन्त्री परिवर्तन भएपछि संवैधानिक परिषद्मा माओवादीको उपस्थिति शून्य हुन्छ । त्यसो भएकाले पनि राष्ट्रिय सभा अध्यक्ष माओवादीले नै लिनुपर्ने हुन्छ’, प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तो अवस्थामा कांग्रेस सहमतिमा आउनु नै उचित हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डको कुरा सुनेपछि अध्यक्ष नेपालले कांग्रेस-माओवादी जसले राष्ट्रिय सभा अध्यक्ष लिए पनि गठबन्धन नभत्किने गरी सहमति गर्नुपर्नेमा जोड दिएका थिए ।

‘राष्ट्रिय सभाको अध्यक्ष तपाईँहरू जसले लिए पनि लिनुस्, तर गठबन्धन भत्किनुभएन’, नेपालले प्रचण्डलाई भनेका थिए ।

प्रकाशित मिति: Feb 29, 2024

प्रतिक्रिया दिनुहोस्