Logo
१६ बैशाख २०८१, आईतबार
(February 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिवरात्रिमा तीन नेपाली फिल्म एक साथ प्रदर्शन हुँदै

हिन्दी फिल्मसँग बजार प्रतिस्पर्धामा डराउने नेपाली निर्माताहरू आपसमा भने सधैँ भिड्न तयार हुन्छन् । अझ कुनै राम्रो मिति पर्नुपर्छ, दुई–तीन वटै नेपाली फिल्म आपसमा भिड्ने गर्दछन् ।

फागुन २५ गते शिवरात्रिकै मौका छोपेर तीन वटा नेपाली फिल्म प्रदर्शन हुँदैछन् । शिवरात्रि र त्यसपछिका केही दिन सार्वजनिक बिदा परेकाले यो मितिमा फिल्म रिलिज गर्ने होड चलेको हो ।

नेपाली चलचित्र ‘काँडेतार’, ‘उपहार’ र ‘रङ्गेली’ एक साथ प्रदर्शनमा आउन लागेका हुन् । फागुनको पहिलो साता अर्थात् ४ गते शुक्रबार प्रदर्शनमा आएको फिल्म ‘जिग्री’ले दर्शक पाउन सकेन ।

११ गते प्रदर्शनमा आएको ‘गोर्खा वारियर’को पनि अपेक्षा गरेजस्तो व्यवसाय भएन । यस्तो अवस्थामा २५ गते तीन वटा फिल्म एक साथ प्रदर्शनमा आउन थालेका हुन् ।

शिवरात्रिकै मौका छोपेर सबैभन्दा पहिला ‘काँडेतार’ले प्रदर्शनको घोषणा गरेको थियो । त्यसपछि ‘उपहार’ र ‘रङ्गेली’ थपियो । सिङ्गल रिलिजमा फिल्मको व्यवसाय राम्रो हुन नसकेको समय तीन वटा चलचित्र आपसमा प्रतिस्पर्धा गर्न उत्रिएपछि लगानी सुरक्षित नहुने जोखिम बढेको छ ।

कस्ता छन् फिल्म ?
नेपाली फिल्म रिलिजको अव्यवस्थित प्रणालीको विषयमा बेलाबेलामा चर्चा हुँदै आएको छ । जति नै बहस र आलोचना भए पनि अवस्था सुध्रिएको देखिन्न ।

२५ गते शिवरात्रिको अवसर पारेर रिलिज हुन लागेका ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’ तीनै दर्शकमाझ प्रतीक्षित फिल्म हुन् । स्टार कलाकारले भरिएका यी तीन फिल्म विषयवस्तु र मेकरका हिसाबले पनि राम्रै मानिएका छन् ।

चलचित्र ‘काँडेतार’ नवल खड्काले निर्माण तथा निर्देशन गरेका हुन् । यस अगाडि राष्ट्रियताको विषयमा सफल ‘दशगजा’, ‘भीमदत्त’ जस्ता फिल्म दिएका नवलले यस फिल्मको विषय पनि राष्ट्रियताकै सेरोफेरो राखेका छन् । सीमा रक्षाका लागि देशका नागरिकले गरेको बलिदान र निर्वाह गर्नुपर्ने दायित्वलाई पर्दामा उतारिएको छ ।

फिल्ममा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काको अभिनय छ ।

सार्वजनिक प्रदर्शन अगाडि फिल्म देशका केही स्थानमा विशेष प्रदर्शन भइसकेको छ । विशेष प्रदर्शनबाट फिल्मले राम्रो प्रतिक्रिया पाउँदै आएको छ ।

त्यस्तै फिल्म ‘उपहार’ स्टार कलाकारको जमघट भएको र सफल मेकरले बनाएको फिल्म हो । यसै फिल्ममार्फत नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री रेखा ५ वर्षपछि अभिनयमा फर्किँदै छिन् ।

फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा हुन्, जसलाई हिट फिल्मका मेसिन समेत भन्ने गरिन्छ । फिल्म निर्माणमा अभिनेत्री रेखा थापा र निर्देशक ज्ञानेन्द्र देउजाले सहकार्यसमेत गरेका छन् ।

समसामयिक कथामा निर्माण भएको फिल्ममा रेखाको अलावा पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जङ्ग कार्की लगायतको अभिनय छ ।

प्रचारका लागि सार्वजनिक गरेको ट्रेलरमा काठमाडौँ महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिसमेत देखाइएको छ ।

फागुन २५ मै रिलिज हुने ‘रङ्गेली’ अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म हो । पछिल्लो समय दयाहाङ र मिरुनाको जोडी रहेको फिल्म लगातार हिट भइरहेको छ । त्यसैले यो फिल्म पनि सफल हुने दाबी गरिएको छ ।

फिल्ममा दयाहाङ ‘ग्याङ्स्टार’को भूमिकामा देखिँदैछन् । दर्शकका लागि दयाहाङको ‘ग्याङ्स्टार’ रुप नयाँ पनि हुनसक्छ । फिल्ममा दयाहाङ र मिरुनाको अलावा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको अभिनय छ ।

अर्जुन सुवेदीले निर्देशन गरेको फिल्मका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागार्ई सह–निर्माता हुन् ।

जोखिममा ६ करोड
अक्सर नेपाली फिल्म एक अर्कोसँग धेरै भिड्ने भनेको चाडपर्वमा हो । चाडपर्वमा केही दिन लगातार बिदा पर्ने भएकाले पनि निर्माता निर्देशकको आँखा पर्ने गरेको छ । यो शिवरात्रिमा पनि सोही कारण तीन फिल्म आएका हुन् ।

तीन फिल्म एकै पटक आउन लागेको यो पहिलो पटक भने होइन । यसअघि पनि कयौँ पटक तीन फिल्म रिलिज भएका छन् । यद्यपि चाडपर्वको मौका छोपेर रिलिज भएका सबै फिल्म सफल भने भएका छैनन् । कहिले एक–दुई फिल्म चलेका पनि हुन्छन्, त कहिले कुनै पनि फिल्मले राम्रो व्यवसाय नगरेको उदाहरण पनि छन् ।

रिलिज हुन लागेको तीन फिल्ममा गरी जम्मा करिब ६ करोड लगानी भएको चर्चा छ । अहिलेको अवस्थामा तीन फिल्म रिलिज हुनु भनेको सबै फिल्मका लागि जोखिम रहेको फिल्मकर्मी बताउँछन् ।

चाडबाडमा केही दिन बिदा हुने र त्यही बिदालाई निर्माता निर्देशकले आँखा लगाउँदा फिल्म जुध्ने गरेको निर्माता तथा वितरक रोहित कट्टेल बताउँछन् । ‘यसरी एकै मितिमा धेरै फिल्म आउँदा कहिले कुनै फिल्म चल्छ, कहिले चल्दैन’, कट्टेलले भने ‘एकै मितिमा नेपाली फिल्मको भिडन्त राम्रो होइन । म राम्रो पनि मान्दिनँ ।’

तीन फिल्म एकसाथ रिलिज हुँदा कुन फिल्मलाई कति शो दिने भन्नेमा हलवालाको पनि टाउको दुखाइ हुने उनले बताए । ‘फिल्म यसरी भिड्दाको असर सबै फिल्मलाई पर्ने देखिन्छ,’ उनले भने, ‘जसको भाग्य बलियो छ, त्यसको फिल्म सफल हुन्छ ।’

उनको विचारसँग निर्माता, वितरक तथा प्रदर्शक गोपाल कायस्थ पनि सहमत छन् ।

‘फिल्म जुधाउनु हुँदैन भनेर हामीले भन्दै आएका छौँ । अहिले त निर्माता संघका अध्यक्षको फिल्म नै जुध्न लागेको छ’, कायस्थले भने ‘अरू जुध्न आए पनि आफू जुध्न हुँदैन ।’

नेपालका दर्शकले कसको फिल्म र कस्तो फिल्म राम्रो हुन्छ भन्ने बुझिसकेको बताउने कायस्थ फिल्म राम्रो भएमात्र सिङ्गल आए पनि वा अन्यसँग भिडे पनि चल्ने धारणा राख्छन् । उनी भन्छन्, ‘शिवरात्रिमा आउने तीनै फिल्म जोखिमको दायरामा छ ।’

प्रकाशित मिति: Feb 29, 2024

प्रतिक्रिया दिनुहोस्