Logo
१७ बैशाख २०८१, सोमबार
(February 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिटरब्याज पीडितको समस्या अदालती प्रक्रियासँग सम्बन्धित : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितका धेरै समस्या समाधान भएको र केही समस्या मात्र बाँकी रहेको बताएका छन् ।

बाँकी रहेका समस्या सरकारले समाधान गर्ने भन्दा पनि अदालती प्रक्रियासँग सम्बन्धित रहेको भन्दै उनले यसको समाधानका लागि अदालतसँग समन्वय गर्ने काम भइरहेको बताएका छन् ।

बुधबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले मिटरब्याजीहरुले कपाली तमसुक र अन्य कागजात पनि बनाएकाले अदालतबाट फैसला उनीहरुकै पक्षमा आउने देखिएको बताए ।

यो विषयको गहिराइलाई अदालतले पनि राम्रोसँग बुझ्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकार अदालत सबै मिलेर मात्र यो समस्या समाधान गर्न सकिन्छ । त्यो कोशिस सरकारले गरिरहेको छ ।’

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि भन्दै मुलुकी संहिता संशोधन गरेर अनुचित लेनदेनसम्बन्धी प्रावधान समावेश गरेको थियो । समस्या समाधानका लागि जाँचबुझ आयोग पनि गठन गरेको थियो ।

जाँचबुझ आयोगले जनकपुरमा कार्यालय नै स्थापना गरेर उजुरी आह्वान गर्ने, साहुकार र मिटरब्याज पीडितबीच समन्वय गराउने लगायतका काम गरेको थियो । तर आयोगको म्याद सकिइसकेको छ ।

आफूहरुको समस्या अझै समाधान नभएको भन्दै मिटरब्याज पीडितहरुको समूह पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट २३ दिन पैदल हिँडेर काठमाडौं आएर आन्दोलन गरिरहेको छ ।

प्रकाशित मिति: Feb 28, 2024

प्रतिक्रिया दिनुहोस्