Logo
२० बैशाख २०८१, बिहीबार
(February 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनको त्रास : सिंहदरबार र बानेश्वर क्षेत्रमा फुटपाथमा हिँड्न पनि निषेध

 

प्रहरीले सिंहदरबार र संघीय संसद भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न पनि निषेध गरेको छ ।

लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा पनि हिँड्न रोक लगाइएको हो ।

सिंहदरबारको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । त्यहाँ फुटपाथ प्रयोग गर्न रोक लगाइएको छ । त्यस्तै संघीय संसद भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा पनि डोरी टाँगिएको छ ।

सिंहदरबार र बानेश्वरका फुटपाथमा अघिल्ला दिनहरुमा भन्दा धेरै प्रहरी परिचालन गरिएको छ । उनीहरुले सर्वसाधारणलाई डोरी टाँगिएको क्षेत्रमा हिँड्न दिएको छैन । फुटपाथमा हिँड्न नपाएपछि सर्वसाधारणले सडकबाटै हिँडेका छन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सुरक्षा संवेदनशीलतालाई हेरेर तत्कालीन व्यवस्थापन गरिएको प्रतिक्रिया दिए ।

सोमबार लघुवित्तका ऋणीहरुको झण्डै ५० जनाको समूह संघीय संसद भवनमा प्रवेश गरेपछि गृह मन्त्रालयले भवनको बाहिरी सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ जनाको जिम्मेवारी खोसेको थियो ।

यो घटनाको छानबिनका लागि प्रहरीले उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति नै गठन गरेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार साँझ नै सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएका थिए ।

तस्वीरहरु :   

प्रकाशित मिति: Feb 27, 2024

प्रतिक्रिया दिनुहोस्