Logo
१६ बैशाख २०८१, आईतबार
(February 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वदेशी दुध सडकमा, विदेशबाट आएको दुध भान्सामा

पछिल्लो समय दुधको मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमै दुध पोखे । मूल्य नपाएको भन्दै किसानहरूले सडकमा दुध पोखेर विरोध प्रदर्शन गरिरहँदा नेपाली भान्छामा भने विदेशी दुध र दुग्धजन्य पदार्थ हाबी हुँदै गएको देखिन्छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा करिब डेढ अर्ब रुपैयाँको दुध तथा दुग्धजन्य वस्तु आयात भएको छ । यो अवधिमा १ अर्ब ४८ करोड २२ लाख रुपैयाँको १७ लाख ३४ किलो-लिटरको दुध तथा दुग्धजन्य वस्तु आयात भएको हो ।

समीक्षा अवधिमा १९ लाख ९९ हजार रुपैयाँको दुग्धजन्य तरल पदार्थ ४ हजार ५५३ लिटर आयात भएको छ । यस्तै, १७ लाख ३० हजार ३९६ किलो ठोस दुग्धजन्य पदार्थ आयात भएको छ । यो बापत १ अर्ब ४८ करोड २ लाख २२ हजार रुपैयाँ निकासी भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले सात महिनामा दुग्धजन्य पदार्थ आयात गर्दा ६१ करोड ५७ लाख १६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।

सात महिनामा दुग्धजन्य वस्तु आयात विवरण

 स्रोतः भन्सार विभाग

सरकार र दुग्धजन्य व्यवसायबिच समन्वय हुन सकेन

दुग्ध उत्पादक किसान तथा व्यवसायी र सरकारबिच समन्वय हुन सकेको छैन । ‘भारतबाट दुध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्नसहित १६ बुँदे माग राख्दै दुग्ध उत्पादक किसान तथा व्यवसायीले चरणबद्ध आन्दोलन सुरु गरेका छन् । तर सरकारले बाह्य मुलुकबाट दुध तथा दुग्धजन्य पदार्थ आयात गर्न अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाइसकेको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयले फागुन २ गतेको निर्णयअनुसार दुग्धजन्य पदार्थ पैठारीमा रोक लगाएको हो ।

दुध तथा दुग्धजन्य पदार्थको बढ्दो आन्तरिक उत्पादनसँगै आन्तरिक खपत (उद्योगको समेत) सोही रूपमा हुन नसकेको तथा बाह्य मुलुकमा सम्भाव्य वस्तुको निर्यात हुन नसकेको र निरन्तर आयातको कारणले आन्तरिक दुध तथा दुग्धजन्य पदार्थको मौज्दात भएकाले अर्को निर्णय नभएसम्मका लागि आयात स्थगित गरिएको मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार चिल्लो हटाइएको दुध (स्कीम्ड मिल्क)को पैठारीमा पूर्ण रोक लगाइएको छ । यस्तै चिनी वा अन्य गुलियो पदार्थ नहालिएको (डब्लुएमपी) को पैठारीमा पनि पूर्णरुपमा रोक लगाइएको छ ।

अन्यमा डेरी ह्वाइटेनर, स्किम्ड मिल्क पाउडर र होल मिल्क पाउडरमा रोक लगाइएको छ । यस्तै नौनी (बटर), घिउ, छुर्पी, प्रशोधित, सबै प्रकारको चिज आयातमा पनि पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

तथ्याङ्क बिनै मौज्दातको दाबी

दुग्ध उत्पादन संघसंगठनले दुध पाउडर, घिउ, बटर लगायत दुग्धजन्य पदार्थ मौज्दात रहेको दाबी गरेका छन् । तर के–कति मात्रामा मौज्दात छ भन्ने उनीहरूसँग तथ्याङ्क छैन । दुग्धजन्य पदार्थ मौज्दात रहेकाले आफूहरूले किसानलाई दुधको रकम भुक्तानी गर्न नसकेको उनीहरूको दाबी छ ।

किसानले पाउनुपर्ने रकम कति छ भन्ने वास्तविक तथ्याङ्कसमेत सरकारी निकाय र दुग्ध उद्योगीसँग छैन । मन्त्रालयले उद्योगी र किसानसँग आफ्नो प्रत्यक्ष सम्पर्क नहुँदा तथ्याङ्क नभएको जनाएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दुधको करिब ४ अर्ब रुपैयाँ भुक्तानी हुन नसकेको बताए । तर दुधसँग सम्बन्धित विभिन्न संघसंगठनले किसानले करिब ६ अर्ब रुपैयाँ रकम भुक्तानी पाउन नसकेको दाबी गरेका छन् ।

कति उत्पादन हुन्छ दुध ?
नेपालमा वार्षिक रूपमा करिब २५ लाख मेट्रिक टन दुध उत्पादन हुँदै आएको तरकारी तथ्याङ्क छ । पछिल्लो समय दुधको उत्पादन केही बढेको पनि तथ्याङ्कमा देखिन्छ ।

सन् २०२०–०२१ मा १० लाख ६० हजार ४ सय ८७ टन गाईको दुध उत्पादन भएकोमा सन् २०२१–०२२ मा ११ लाख १ हजार ८ सय १२ टन पुगेको मन्त्रालयले जनाएको छ ।

भैँसीको दुध पनि सो अवधिमा १४ लाख १९ हजार ४ सय १२ टनबाट बढेर १४ लाख ६४ हजार ८ सय २ टन उत्पादन भएको छ । देशभर एक दशकअघि वार्षिक १६ लाख मेट्रिक टनको हाराहारी दुध उत्पादन हुन्थ्यो ।

प्रकाशित मिति: Feb 26, 2024

प्रतिक्रिया दिनुहोस्