Logo
१६ बैशाख २०८१, आईतबार
(February 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिवि उपकुलपतिको सर्टलिस्टमा परेका विवादित व्यक्तिबारे पुनर्विचार गर्न शिक्षा समितिको निर्देशन

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि अल्पसूची (सर्टलिष्ट) मा केही विवादित व्यक्तिहरू पनि परेकोले त्यसमा पुनर्विचार गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

सिंहदरबारमा सोमबार बसेको बैठकले त्रिवि उपकुलपति नाम सिफारिस तथा छनोट समिति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको हो। समितिमा त्रिवि उपकुलपति पदमा नियुक्तिसम्बन्धी चलिरहेका प्रक्रियाबारे केन्द्रित रहेर छलफल भएको थियो।

सर्टलिस्टमा बौद्धिक चोरीको आरोप लागेका, सूचना लुकाएको आरोपमा सूचना आयोगबाट जरिवाना पाएका र भ्रष्टाचार मुद्दा लागेका व्यक्तिहरू परेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए । समितिका सभापति भानुभक्त जोशीले बौद्धिक चोरी, भ्रष्टाचार र सूचना लुकाएकाजस्ता आरोप लागेका व्यक्तिहरू पनि सर्टलिस्टमा देखिएकोले पुनर्विचार गर्न सिफारिस समिति र सरकारलाई ध्यानाकर्षण गराएका हुन्।

सर्टलिस्टमा रहेका तीर्थराज खनियाँ, केशरजंग बराल र शिवलाल भुसालमाथि प्रश्न उठेको हो । खनियाँमाथि बौद्धिक चोरीको आरोप छ भने बराललाई पोखरा विश्वविद्यालयको उपकुलपति हुँदा सम्बन्धनका क्रममा अनियमितता गरेको र त्रिविका बहालवाला कार्यवाहक उपकुलपति भुसाललाई राष्ट्रिय सूचना आयोगले जरिवाना गरेको भन्ने विषय संसदीय समितिमा सांसदहरूले उठाएका थिए ।

त्यस्तै, त्रिविका कार्यवाहक उपकुलपति भुसालले हालै गरेका नियुक्ति र निर्णयबारे छानबिन गरी आवश्यक कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ ।

समितिका सदस्यहरूले त्रिवि उपकुलपति सर्टलिस्टमा परेका नामावलीका सन्दर्भमा कुरा राखेका थिए। उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकोमा एक जनाको रद्द भएको थियो भने १४ जनाको नाम सर्टलिष्टमा परेको छ।

पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा पनि उपकुलपति माग गर्दै दरखास्त आह्वान गरिएको छ।

प्रकाशित मिति: Feb 12, 2024

प्रतिक्रिया दिनुहोस्