Logo
१५ फाल्गुन २०८०, मंगलबार
(February 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभरका २२ विमानस्थल बन्द भएका छन्

देशभरका ५५ वटा विमानस्थलमध्ये हाल ३३ वटा मात्र सञ्चालनमा छन्। बाँकी २२ वटा बन्द छन् । दुर्गम क्षेत्रमा निकै पहिले निर्माण भएका थुप्रै विमानस्थल अहिले घाँसे मैदान बनेका छन्। हाल सञ्चालनमा रहेका विमानस्थलमै पनि नियमित उडान भइरहेको छैन।

नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले करिब ३० वटा विमानस्थलमा नियमित तथा साप्तहिक रूपमा उडान हुन्छ।

यी विमानस्थलमा सरकारको अर्बौं रूपैयाँ लगानी छ। सामान्य पूर्वाधारबाहेक विमानस्थल सञ्चालनका लागि रनवे (धावनमार्ग), टर्मिनल भवन र टावर अत्यावश्यक हुन्छ। निर्माण खर्च पनि यिनमै बढी लाग्छ।

प्राधिकरणका अनुसार जग्गाबाहेक पूर्वाधारसँगै पाँच सय मिटर रनवे भएको विमानस्थल बनाउन ५० करोड रूपैयाँ हाराहारी लाग्छ। त्यस्तै एक हजार दुई सय मिटर रनवे भएको बनाउन एक अर्ब र एक हजार पाँच मिटरको रनवे भएको दुई अर्ब रूपैयाँ लाग्छ।

हाल बन्द रहेका अधिकांश विमानस्थलको रनवे पाँच सय मिटर आसपास छन्। यी विमानस्थलमा राज्यको ११ अर्ब रूपैयाँ बजेट खेर गएको छ। यति मात्र होइन, एउटा विमानस्थलको रनवे कालोपत्रे (पक्की) बनाउन थप ५० करोड रूपैयाँ खर्च लाग्छ।

बन्दमध्ये ९ वटा कालोपत्रे गरिएका विमानस्थल हुन्। यी विमानस्थलमा थप साढे चार अर्ब रूपैयाँ बजेट खेर गइरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। विमानस्थल निर्माणदेखि कालोपत्रेसम्मका लागि राजनीति हाबी हुने भुल बताउँछन्।

‘जो मन्त्री बन्छन् आफ्नो जिल्लामा अझ आफ्नै टोलमा विमानस्थल चाहिन्छ। त्यति मात्र होइन चल्दै नचलेको विमानस्थल पनि कालोपत्रे गर्नुपर्छ,’ उनले भने।

जुनसुकै विमानस्थल निर्माण गर्नुअघि सरकारले विज्ञ टोलीसहितको समिति गठन गर्छ। समितिले विमानस्थल आवश्यक होर होइन र व्यावसायिक तथा विभिन्न कारण सञ्चालनमा गर्न सकिन्छ वा सकिँदैन भन्नेबारे अध्ययन गर्छ। सो अध्ययन प्रतिवेदन सरकारलाई बुझाउँछ।

त्यसपछि थप प्रकिया अघि बढ्छ। तर अहिले बन्द रहेका विमानस्थलहरू भने कुनै अध्ययनबिनै बनेको भूलको भनाइ छ।

प्राविधिक तथा विज्ञको अध्ययनले पनि राजनीतिक नेतृत्वको चुनावी नारा र स्टन्टु का रूपमा विमानस्थल निर्माणको विषय उठाउने गरेको पाइएको छ। फलस्वरूप राज्यको अर्बौं लगानी घाँसे मैदान र गौचरण बनिरहेका छन्।

‘बजार कस्तो छ र व्यावसायिक तरिकाले हेर्नुभन्दा पनि मन्त्री भएपछि मेरो ठाउँमा विमानस्थल चाहिन्छ भन्ने सोच हाबी भएको देखिएको छ। यो आजको होइन वर्षौं अघिदेखि चल्दै आएको प्रवृत्ति हो,’ भुलले थप भने।

अहिले बन्द अवस्थामा रहेका २२ वटा विमानस्थलमा जहाज नउड्नुको कारण के होर के अब यहाँ जहाज उड्दैनन्र हामीले यसबारे पनि सूचना अधिकारी भुललाई सोध्यौं।

उनका अनुसार यी विमानस्थलमा जहाज उड्न नसक्नुका चार कारण छन्।

पहिलो, सडक यातायातको पहुँच।

दोस्रो, छोटो रनवे।

तेस्रो, साना जहाजको कमी।

र, चौथो, महँगो हवाइ भाडादर।

यिनै समस्याको शिकार भएको हो दोलखाको जिरीस्थित विमानस्थल।

यहाँ सडक यातायात पुग्नुअघि नै यो विमानस्थल राम्रो चलेको थियो। सगरमाथा क्षेत्र प्रवेशद्वारका रूपमा चर्चित जिरी विमानस्थल २०५५ साल अघिसम्म विदेशी पर्यटकको रोजाइमा पर्थ्यो। सडक यातायात नहुँदा राजधानीबाट हेलिकप्टरमा सामान ओसार्ने र त्यहाँबाट विभिन्न भेगमा खच्चडमा लैजान्थे।

जिरी विमानस्थल पुग्ने विदेशी पर्यटकले यसलाई स्विट्जरल्यान्डको जुरीचसँग तुलना गर्थे। जब लामोसाँघु जिरी सडक खण्ड बन्यो, यो विमानस्थल बन्द भयो। जिरी जस्तै अन्य केही विमानस्थल पनि सडक पूर्वाधार पुगेसँगै बन्द भएको सूचना अधिकारी भुल बताउँछन्।

अहिले बन्द भएका अधिकांश विमानस्थलका रनवे पाँच सय मिटरका छन्। यहाँ ट्विनअटरले मात्र उडान गर्न सक्छन्। तर एयरलाइन्सहरूले अचेल ट्विनअटर एकदमै कम गरिसकेका छन्। एटिआर ४२ का लागि एक हजार दुई सय र एटिआर ७२ र सिआरजेका लागि एक हजार पाँच सय मिटरको रनवे चाहिन्छ।

अहिले वायु सेवा निगमसँग दुइटा, समिटसँग चार, तारासँग तीन र सीतासँग दुई वटा गरी ११ वटा साना जहाज छन्।

४३ वटा साना रनवे भएका विमानस्थल छन् जब कि जहाजको संख्या ११ वटा मात्र छ,’ भुलले सेतोपाटीसँग भने, सरकारी जहाज बिग्रेर थन्किरहने, निजी सुगम क्षेत्र मात्र खोज्ने अनि कसरी चल्छन् यत्तिका विमानस्थल।’

त्यस्तै ठूलो जहाजको तुलनामा साना जहाजको भाडा पनि महँगो पर्छ। ठूलो जहाजका लागि न्यूनतमदेखि अधिकतम भाडादर तोक्न मिल्छ। साना जहाजका लागि निश्चित भाडादर तोकिने उनले बताए।

सस्तो भएपछि यात्रुहरूको रोजाइ पनि ठूला जहाजमै पर्न थालेको हो।

कतिपय ठाउँमा बिनाअध्ययन विमानस्थल चलाउँदा पनि समस्या भएको हो।

स्थानीय तहहरूले सीमित सिटको ग्यारेन्टी गरेर वायु सेवाहरूसँग सम्झौता गरी जहाज उडाउने गरेका छन्। तर त्यस्ता विमानस्थलमा नियमित उडान हुन सकेन। ८० करोड लगानीमा बनेको दाङको टरिगाउँ विमानस्थलमा यस्तै भएको हो।

नगरपालिकाले १५ जना यात्रुको ग्यारेन्टी दिएपछि समिट एयरले केही समय उडान गरेको थियो। तर भाडा महँगो भएपछि यात्रुको रोजाइमा टरिगाउँभन्दा पनि नेपालगञ्ज विमानस्थल पर्‍यो।

पूर्वको भोजपुरमा पनि यस्तै कारणले कहिलेकाहीँ मात्र जहाज उड्छ।

‘सानो जहाजमा यात्रु थोरै हुन्छन्, सञ्चालन खर्च र दुरी बढी हुन्छ जसले भाडा महँगो बनाउँछ,’ भुलले भने, ‘नजिकै अर्को ठूलो विमानस्थल छ भने ठूलो जहाजमा आरामले सस्तो भाडा र कम समयमै पुग्ने हुँदा यात्रुको रोजाइ यसमै छ।

साना विमानस्थल प्रयोगमा आउन नसकेपछि प्राधिकरणले अब ठूलो जहाज जाने विमानस्थलमा मात्र लगानी गर्ने नीति लिएको सूचना अधिकारी भुलले बताए।

यसका लागि साना रनवे भएका पुराना विमानस्थल विस्तार गर्ने र कालोपत्रे गर्ने काम भइरहेको छ। रनवे विस्तार गर्न नसकिने अवस्थाका विमानस्थल भने बन्द रहने उनले बताए।

‘सबै विमानस्थलका लागि सरकारसँग जहाज छैन,’ उनले भने, ‘निजी क्षेत्रले यात्रु बिना जहाज उडाउँदैन।’

यी हुन् बन्द रहेका २२ विमानस्थल

२०४८ सालमा पोखराबाट बागलुङ बजार सडक सञ्जालले जोडिएपछि बागलुङको बलेवा विमानस्थल बन्द भएको थियो। २७ वर्षपछि २०७५ सालमा तारा एयरले उडान थाले पनि एक वर्ष नपुग्दै उडान बन्द भयो। विमानस्थलसम्म पुग्न सडकको सहज पहुँच छैन।

बैतडीमा पनि २०७७ साल असोजमा परीक्षण उडान गरिएको थियो। त्यसपछि कुनै उडान भएको छैन।

‘यो विमानस्थल सदरमुकामबाट निकै पर भएकाले सञ्चालनमा आउन सकेन,’ भुलले भने।

दार्चुला विमानस्थल २०५७ सालसम्म उडान हुन्थ्यो। सडक यातायातका पहुँच भएपछि दार्चुला र ढोरपाटन विमानस्थल अहिले बन्द छन्।

डोटी विमानस्थलमा २०७७ साल असोजमा परीक्षण उडान गरिएको थियो। वायु सेवा निगमले ल्याएका चिनियाँ जहाजमध्ये एउटाबाट डोटीमा उडान गर्ने योजना थियो। पछि ती जहाज नै ग्राउन्डेड भए। योजना पनि यतिकै रह्यो।

२०५५ सालअघि उडान हुने गोरखाको पालुङटार विमानस्थल पनि अहिले बन्द छ।

यी सँगै रूकुमको चौरजहारी, सोलुखुम्बुको कांगेलडाँडा, ओखलढुंगाको खिजी चण्डेश्वरी, लाङटाङ, खोटाङको लामिडाँडा, कञ्चनपुरको महेन्द्रनगर, मनाङ, डोल्पाको मसिनेचउर, भरतपुरको मेघौली, रोल्पा, सोलुखुम्बुको स्याङबोचे, ओखलढुंगाकै रूम्जाटार, कैलालीको टीकापुर, अछामको कमलबजार र कालिकोटको सुनथराली विमानस्थल अहिले बन्द छन्।

प्रकाशित मिति: Feb 12, 2024

प्रतिक्रिया दिनुहोस्