Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री कार्की विरुद्ध पार्टीगत कर्मचारी संगठनकहरुद्वारा आन्दोलन घोषणा : क्षमायाचना गर्न माग

सार्वजनीक मञ्चमा पदीय हैसियत बिर्सेर बेलगाम बोलेको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की विरुद्ध निजामती कर्मचारीका विभिन्न चारवटा पार्टीगत संगठनहरुले आन्दोलन गर्ने भएका छन् ।

उनले राष्ट्रसेवक कर्मचारीको आत्मसम्मानमा चोट पुग्नेगरी अभिव्यक्ति दिएको भन्दै निजामती कर्मचारीका विभिन्न चारवटा संगठनले कार्कीले क्षमायाचना नगरे आन्दोलन गर्ने चेतावनी पनि दिएका हुन् ।

गत सोमबार मोरङको सुन्दरहरैचास्थित साँजीलाल माध्यामिक विद्यालयको ५८ औ वार्षिक उत्सवका क्रममा आफू विद्यार्थीकालमा कक्षामा सधैँ लाष्ट बेञ्चमा बस्ने र फष्ट बेञ्चमा बस्नेको बखान गरेका थिए ।

बखानका क्रममा उनले आफ्नो विद्यार्थीकालमा फष्ट बेञ्चर खरिदार भएर भुँडीमात्र भर्न ठिक्क भएको र आफू लाष्ट बेञ्चर भएर पनि मुख्यमन्त्री बन्न सफल भएको अभिव्याक्ति दिएका थिए ।

उक्त अभिव्यक्ति सच्याउन कर्मचारी संघ र संगठनले कार्कीलाई आग्रह गरेका छन् । ‘म कक्षामा बस्ने लाष्ट बेन्चर हुँ, फष्ट बेन्चमा बस्नेले केवल लेख्न र पढनमात्र जान्यो,’ उनले भनेका थिए, ‘कसरी लोकसेवा पास गर्ने र भुँडी भर्ने मात्र जान्यो, उ अहिले खरिदार छ, म मुख्यमन्त्री छु ।, यही अभिव्यक्तिका कारण कार्की यसबेला सामाजिक सञ्जालमा छाएका मात्र छैनन् उनी निजामती कर्मचारीका विभिन्न चार संगठनको आलोचनाका पात्र पनि बनेका छन् ।

कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन कोशीका अध्यक्ष मानबहादुर बन, एमाले निकट निजामती कर्मचारी संगठन कोशीका अध्यक्ष काशीराज पराजुली, माओवादी केन्द्र निकट कर्मचारी संगठन कोशीका अध्यक्ष रुद्र सुवेदी र नेकपा एकीकृत समाजवादी निकट कर्मचारी संगठन कोशीका कार्यवाहक अध्यक्ष योगेश्वर खनालले संयुक्त रुपमा विज्ञप्ति जारी गरी मुख्यमन्त्री कार्कीको उक्त अभिव्यक्ति गैरजिम्मेवार, अपरिपक्व र आपत्तिजनक भएको उल्लेख गर्दै क्षमायाचनाको माग गरेका छन् ।

मुख्यमन्त्री कार्कीको अभिव्यक्तिले राष्ट्रसेवक कर्मचारीलाई दुःखी बनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सबैभन्दा ठूलो लोकतान्त्रिक दलबाट प्रदेशसभामा अत्यधिक मतसहित निर्वाचित भएर मुख्यमन्त्री बनेका कार्कीले कर्मचारीका सम्बन्धमा दिएको गैह्र जिम्मेवारी र आपत्तिजनक अभिव्यक्तिले समग्र राष्ट्रसेवक कर्मचारीहरूको मानमर्दन भएकोमा हामी आपत्ति व्यक्त गर्छौं ।

मुख्यमन्त्रीले आफ्नो अभिव्यक्ति प्रति क्षमायाचना नगरे आफूहरू संयुक्त रुपमा आन्दोलन गर्न बाध्य हुने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘आम निजामती कर्मचारीको योग्यता र क्षमताको मानमर्दन हुने गरी व्यक्त अभिव्यक्ति प्रति घोर निन्दा र आलोचना गर्दै उत्तेजनामा आएर गरिएको अपरिपक्व अभिव्यक्ति फिर्ता लिएर राष्ट्रसेवकको मानमर्दनमा पुगेको चोटप्रति क्षमायाचना गर्न मुख्यमन्त्रीलाई आग्रह गर्छौं ।’

प्रकाशित मिति: Feb 11, 2024

प्रतिक्रिया दिनुहोस्