Logo
१६ बैशाख २०८१, आईतबार
(February 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तान : निर्वाचनमा धाँधली भएको भन्दै अमेरिका, बेलायत र इयुले गरे छानबिनको माग

पाकिस्तानमा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै अमेरिका, बेलायत र युरोपियन युनियन इयुले छानबिनको माग गरेका छन्।
पाकिस्तानमा मोबाइल र इन्टरनेट सेवा बन्द गरी बिहीबार मतदान भएको थियो। मतदानकै दिन उम्मेदवार र ठूलो संख्यामा नेता कार्यकर्तादेखि सामाजिक अभियान्तासेत पक्राउ परेका थिए।

मतदान र निर्वाचन परिणाममा पनि सेनाले हस्तक्षेप र धाँधली गरेको भन्दै ती विषयहरूमा छानबिन गर्न अमेरिका र इयुले आग्रह गरेको हो।

इयुको एक वक्तव्यमा पाकिस्तानमा उम्मेदवारहरू स्वतन्त्र रूपले चुनावमा सहभागी हुन नसकेको, अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरिएको र इन्टरनेट पहुँचमा प्रतिबन्ध लगाइएकोबारे चासो व्यक्त गरिएको छ।

अमेरिकी विदेश मन्त्रालयले निर्वाचनको समयमा सञ्चारकर्मीहरूमाथि भएको आक्रमण र विभिन्न प्रतिबन्धहरूबारे चासो व्यक्त गरेको छ।

हामी चुनावमा भएका हिंसा, सञ्चारकर्मीहरूमाथिको आक्रमणलगायतका मानवअधिकार र मौलिक स्वतन्त्रताको प्रयोगमा प्रतिबन्ध, इन्टरनेट र दूरसञ्चार सेवाहरूमा पहुँचमा प्रतिबन्ध लगाइएकोप्रति निन्दा गर्छौं। निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेको आरोपप्रति चिन्तित छौं। हस्तक्षेप वा धोकाधडीको दाबीमा‍ छानबिन हुनुपर्छ, विदेश मन्त्रालयले सार्वजनिक गरेको गरेको वक्तव्यमा भनिएको छ।

केही अमेरिकी सांसदहरूले सामाजिक सञ्जाल प्लेटफर्फ एक्समा लेख्दै पाकिस्तानमा सेनाले निर्वाचन परिणाममा हस्तक्षेप गरेको बताएका छन्।

‘अब आउने सरकारको वैधता निष्पक्ष निर्वाचनमा निर्भर रहन्छ। पाकिस्तानका जनताहरू पारदर्शी लोकतान्त्रिक प्रक्रियाका हकदार हुन्,’ अमेरिकी सांसद इलहान ओमरले एक्समा लेखेकी छन्, ‘ त्यहाँ भएका भनिएका हस्तक्षेप र धाँधलीहरूबारे छानबिन नभएसम्म निर्वाचन परिणामलाई वैधानिकता नदिन विदेश विभागलाई आग्रह गर्दछु।’

पाकिस्तानमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआई)लाई पहिलेको चुनाव चिह्न नदिइएपछि इमरान खानका समर्थकहरूले यसपालि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

२६५ मध्ये परिणाम अन्तिम चरणमा पुग्दा त्यहाँ पिटिआई समर्थित उम्मेदवारहरूले बढी सिट जितेका छन्।

आइतबार बिहान ९ स्थानको परिणाम आउन बाँकी हुँदा १०१ सिटमा पिटिआई समर्थित उम्मेदवार निर्वाचित भएका छन्। त्यहाँ पाकिस्तान मुस्लिम लिगका ७४ र पाकिस्तान पिपुल्स पार्टीले ५४ सिट जितेका छन्।

१७ सिटमा मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्ताका उम्मेदवार विजयी भएका छन् भने बाँकीमा अन्य दलका उम्मेदवार निर्वाचित भएका छन्।

प्रकाशित मिति: Feb 11, 2024

प्रतिक्रिया दिनुहोस्