Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसीको प्रोजेक्टका लागि जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइयो

अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) द्वारा सन्चालित ४०० केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको छ ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले मकवानपुरको साबिक नामटार, कालिकाटार (हाल कैलाश गाउँपालिका), हेटौंडा ३ र हेटौंडा ११ का जग्गाधनीलाई मुआब्जा तथा क्षतिपूर्ति लिन आउन प्रशासनमार्फत सूचना गरेको हो ।

घरगोठ, टहरा, कटेरा तथा रुख विरुवासमेत स्थानीय रुपमा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उपदफा १ को प्रयोजन र जग्गाको स्वामित्व फरक पर्न गएमासमेत दाबी गर्न प्रशासनले १८ माघमा सूचना जारी गरेको छ ।

साबिक बसामाडी गाविस, नामटार गाविस, कालिकाटार गाविस र हेटौंडा ११ को जग्गा अधिग्रहण गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुले जनाएको छ ।

२१ दिने सूचना प्रकाशन गरी मुआब्जा तथा क्षतिपूर्तिका लागि निबेदन माग गरिएको हो । सूचना प्रकाशित भएको मितिदेखि नै अधिग्रहण गरिने जग्गाहरु रोक्ने हुने प्रशासनले जानकारी दिएको छ ।

प्रशासनले जग्गा रोक्का हुनेहुँदा अधिग्रहण हुने क्षेत्रमा कुनै पनि संरचना थप्ने काम नगर्न पनि अनुरोध गरेको छ ।

प्रसारण लाइनको टावर निर्माण गर्ने प्रयोजनका लागि हेटौंडा ११ मा कृष्णप्रसाद सुबेदी, राममणि ढुंगाना र प्रमोदसिंह रानाभाटको जग्गा अधिग्रहरणमा परेको छ ।

साबिक नामटारमा कृष्णबहादुर नेगीको जग्गामा टावर राखिने जनाइएको छ । साबिक कालिकाटार र बसामाडीमा पनि २ र २ जनाको जग्गा अधिग्रहणमा परेको प्रशासनले जनाएको छ ।

अधिग्रहणमा परेको जग्गामा निर्माण भएका घरटहरा, अन्य संरचना, रुख बिरुवाको मुआब्जाका लागि निबेदन माग गरिएको हो ।

३१५ किलोमिटर लामो डबल सर्किटयुक्त ४०० केभी प्रसारण लाइन अन्तर्गत हेटौंडा ११ थानाभर्‍याङमा ४०० केभी क्षमताको ‘इण्डोर ग्यास इन्सुलेटेड सब स्टेसन’ निर्माण गरिएको छ ।

एमसीए नेपाल विकास समितिको वेबसाइटमा उल्लेख गरिएअनुसार नुवाकोटको बेलकोटगढी नगरपालिकामा रातमाटे सब स्टेसन, तनहुँमा नयाँ दमौली सब-स्टेसन र नवलपरासी पश्चिमको भुमहीमा नयाँ बुटवल सब-स्टेसन निर्माण गरिनेछ ।

आयोजनाअन्तर्गत प्रसारण लाइन काठमाडौंको लप्सीफेदी र मकवानपुरको हेटौंडा ११ थानाभर्‍याङ सब-स्टेसनमा जोडिनेछ ।

झन्डै तीन हजार मेगावाट भन्दा बढी (विद्युत) बोक्ने ४०० किलो भोल्टको हाइ क्यापासीटी प्रसारण लाइन हो । यो काठमाडौंको उत्तरपूर्व लप्सीफेदीदेखि नुवाकोटको रातमाटे सब-स्टेसनसम्म र त्यहाँबाट दुईवटा लाइन एउटा हेटौंडा जान्छ भने अर्को दमौली जाने एमसिए नेपालले आफ्नो वेवसाइटमा जनाइएको छ ।

‘दमौलीबाट ८० किलोमिटर दक्षिणतर्फ गएर नवलपरासीस्थित नयाँ बुटवल सब-स्टेसनमा पुग्छ र २२ किलोमिटर अझै दक्षिण हुँदै भारतसँगको सीमामा पुग्छ’, यस आयोजनाको प्रसारण लाइनसम्बन्धी अंश करिब ३१५ किलोमिटर लामो डबल सर्किटयुक्त ४०० केभी प्रसारण लाइन केही क्वाड सर्किट टावरसहित हुनेछ ।

विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीनवटा नयाँ ४०० केभी क्षमताको इण्डोर ग्यास इन्सुलेटेड सब स्टेशन जीआईएस निर्माण गरिनेछ ।

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा रातमाटे सब-स्टेशन, तनहुँ जिल्लामा नयाँ दमौली सब स्टेशन र नवलपरासी पश्चिम जिल्लाको भुमहीमा नयाँ बुटवल सब-स्टेशन निर्माण गरिनेछ ।

निर्माणाधीन प्रसारण लाइन काठमाडौं जिल्लाको लप्सीफेदी र मकवानपुरको नयाँ हेटौंडास्थित नेपाल विद्युत् प्राधिकरणका विद्यमान सब- स्टेशनहरुमा पनि जोडिनेछ ।

प्रकाशित मिति: Feb 8, 2024

प्रतिक्रिया दिनुहोस्